मकवानपुर, १६ फागुन ।
मकवानपुरको हेटौंडामा मगर संस्कृतिमा आधारित बुद्धचोकदेखि हुप्राचौरसम्म झाँकीसहित र्याली तथा हुप्राचौरमा बिबिध साँस्कृतिक कार्यक्रम सहित मौलिक खानाका परिकार प्रदर्शनी गरी दिवस मनाइएको हो ।
नेपाल मगर सङ्घ तथा सङ्घसँग आबद्ध पालिका समिति, भात्रृ संस्थाहरु, मगर गुठीहरुलगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संघको अध्यक्ष सन्देश तुम्सिंङ मगरको अध्यक्षता र हेटौंडा उपमहानागरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले मगर समुदायको पहिचानको रुपमा रहेका कला र संस्कृति संरक्षण एवं प्रवर्धन मुख्य मुद्दा रहेको र हाल हेटौंडा उपमहानगरपालिका ८ मा बन्दै गरेको मगर सङ्घको भवनलाई सक्दो सहयोग गरि निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो ।
कार्यक्रममा मगरी भेषभूषासहित मगर समुदायमा प्रचलित कौराहा, घाटु, मारुनी, हुर्रालगायतको प्रस्तुति हुनुको साथै राष्ट्रिय लोक तथा दोहोरि गायिका राधिका हमाल पुन, राष्ट्रिय कलाकार तथा नृत्यकार शशि पुन मगर, लोकप्रिय गायक शिव थापा मगर, लोकदोहोरी गायक अजित लोप्चनलगायतको प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा मगर सङ्घ मकवानपुरको घर (भवन) बनाउन जग्गा प्राप्तिको लागि महत्त्वपूर्ण भूमिका खेलेका हेटौंडा ८ कमानेस्थित लाङ्घाली मगर गुठिको कोषाध्यक्ष तथा ओम नगर टोल बिकास संस्थाको अध्यक्ष जितबहादुर सारु मगर, नेपाल मगर सङ्घका पूर्व सल्लाहकार कृष्ण सारुमगर र हेटौंडा -०४ स्थित ग्यहोट मगर समाज मगर गुठीलाई सङ्घले सम्मान र सङ्घको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने २३ जनालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर सङ्घ केन्द्रीय समिति निवर्तमान सदस्य सारुमगर, केन्द्रीय सल्लाहकार विश्व आलेमगर, प्रदेश उपाध्यक्ष खेम जर्गा मगर, प्रदेश प्रशासन सचिव रामकुमार बोगटी थापा मगर, प्रदेश निवर्तमान सहकोषाध्यक्ष शंकर थापा, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, गुठीका अध्यक्ष तथा प्रतिनिधिहरु स्थानीय कलाकारहरुलगायतको आतिथ्य रहेको थियो ।
मगर समुदायले बिहिबार देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाए । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।
“मगरात सभ्यता दस्तावेजीकरण गर्दै, लेखन संस्कृति सङ्ग्रहालय बनाऔं, साङ्गठनिक रुपमा ४३ औँ स्थापना दिवस सफल पारौं” भन्ने नारासहित पालिकास्तरदेखि वडा तथा टोलटोलमा दिवस विशेष कार्यक्रम भइरहेको छ ।
मगर जातिको अधिकारमुखी साझा संस्था नेपाल मगर सङ्घको स्थापना दिवसको अवसरमा बिहीबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइएको हो । सङ्घ स्थापना हुनुपूर्व मगरात सभ्यतासहितको समृद्ध मगर समाज निर्माण गर्ने उद्देश्यका साथ २०१२ सालमा श्यामसिंह थापाको नेतृत्वमा काठमाडौँमा मगर समाज सुधार सङ्घ गठन भएको थियो ।
२०३६ सालको राजनीतिक आन्दोलनपश्चात् मगरको एकीकृत सामाजिक संस्थाको रुपमा २०३९ साल फागुन १५ गते दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घ हालको (नेपाल मगर सङ्घ) स्थापना भएको थियो ।
सङ्घले भिन्नभिन्न भाषा, धर्म र संस्कृति बोकेको मगरलाई एउटै सुत्रमा बाँधी एकताबद्ध गरेको र अग्रजहरुको ऐतिहासिक सङ्घर्ष र उपलब्धिलाई स्मरण गर्दै फागुन १५ लाई उत्सवको रुपमा मनाइँदै आएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा रहेका १४२ जातजातिमध्ये कुल जनसङ्ख्याको तेस्रो स्थानमा मगर समुदाय छ ।
देशको कुल जनसङ्ख्या दुई करोड ९१ लख ६४ हजार ५७८ मध्ये मगर समुदायको ६ दशमलव ९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ छ । पाल्पाको कुल जनसङ्ख्या २ लाख ४५ हजार २७ मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर समुदायको बसोबास छ ।