भरतपुर, १६ फागुन ।
शुक्रबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का भारत र चीनमा पनि महसुस भएको छ । भूकम्पको झट्का भारतका पटना र बिहार आसपासका क्षेत्रमा महसुस भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त भूकम्पको धक्का काठमाडौं र आसपासका स्थानमा महसुस गरिएको थियो । भूकम्पको धक्का चितवन, नवलपरासी, पाल्पा, पोखरासहित पूर्वी नेपालका धेरै जिल्लामा समेत महसुस गरिएको छ ।
यसैगरी, भूकम्पको धक्का पश्चिम बंगालको उत्तरी क्षेत्रमा पनि महसुस गरिएको समाचारमा उल्लेख छ । सिलगढीमा पनि धेरै मानिसहरूले भूकम्पको धक्का महसुस गरेको बताएका छन् ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर शुक्रबार बिहान २ बजेर ५२ मिनेटमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको थियो । भूकम्पको केन्द्रबिन्दु रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले क्षतिको विवरण आइनसकेको जनाएको छ । यद्यपि, उक्त क्षेत्रमा ठूलै धक्का महसुस गरिएको गाउँपालिका अध्यक्षा पासाङ नुर्पु शेर्पाले बताएका छन् ।
भूकम्पपछि आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोकमा एक जना सामान्य घाइते भएका छन् । उनी जिल्ला कारागारका कैदी हुन् । आत्तिएर भाग्ने क्रममा लड्दा उनको हात भाँचिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको जानकारी आएको बताए । उनका अनुसार भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरू विवरण आउन बाँकी छ ।
काठमाडौं आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । मध्यरातमा मानिसहरू सुतिरहेको समयमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प भएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प भइसकेका छन् ।
त्यसैगरी शुक्रबार बिहान पाकिस्तानमा पनि भूकम्प भएको छ । पाकिस्तानमा ४.५ रेक्टर स्कुलले भूकम्प भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ ।