उ त्यो डाँडामा
चिसो बतास चलेको बेला
उसैलाई पछ्याउँदै म
अघि बढिरहेकी छु
उकाली चढ्दै
सुस्केरा हाल्दै
पसिना बगाउँदै
गोडाहरु लर्बराए पनि
मेरो राजकुमारलाई भेट्ने अभिलाषा बोकेर
हिँडिरहेकी छु ।
उ निकै प्यारो छ,
सुन्दर छ
सफा र चिटिक्क छ
अग्लो कदको
प्रेमिल आँखा,
अलि अलि खुम्चिएका
चिमिक्क परेका
हेर्दै खाइलाग्दो
उस्तै मन पनि सफा भएको
मरो मन मुटु कब्जा गरेको छ ।।
उसको यादले रातभरी सताउँदा
सिरानीलाई च्यापेर उसैसँग गफिँदा
आफूलाई संसार भुल्ने म
आज उसैलाई भेट्न
निरन्तर
हिँडिरहेछु दौडिरहेछु ।।
बाटोमा भेटिएका खोला
खोलामा निलो पानी,
पानी भित्र सफा देखिने ढुङ्गा
माछाका भुरा टिलिक्क टक्लेका
रमाई रमाई खेलेका
घाम ढल्किँदै छ
चराचुरुङ्गी चिरबिर चिरबिर गर्दै
आफ्नो गुँढतिर जाँदैछन्
उडेका ति चरा,
पौडिएका ति माछाका भुरा
सोच्छु
आहा
मेरो राजकुमारको साथ पनि …
यो मनले त्यहि माछा र चरासँग आफ्नो जीवन कल्पेको छ
उज्यालो भएछ क्यार
झल्याँस्स ब्युँझिएँ ।।