भरतपुर, १५ फागुन ।
युवा उद्यमी डिला खरेलसँग उद्योग वाणिज्य संघ चितवनले नेपाल – अस्ट्रेलिया सम्बन्ध र प्रत्यक्ष वैदेशिक लगानी विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ । चितवनका उद्यमी, व्यवसायीको विशेष सहभागितामा बिहीबार खरेलसँग छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल र अस्ट्रेलियाको दुई देशीय व्यापार सम्बन्धका आयाम बारे छलफल भएको थियो । गैर आवासीय नेपालीका नागरिकता सम्बन्धि समस्या र यसका सकारात्मक पाटोका बारेमा पनि खरेलले प्रस्तुति दिएका थिए । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (Foreign Direct Investment) को संभावना, अवसर र चुनौतीका बारे पनि खरेलको प्रस्तुति दिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनमा मह उत्पादन राम्रो भएकोले चितवनको महलाई बिदेश निर्यात गर्न सकेमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । महिला उद्यमीले उत्पादन गरेका अचारलाई पनि निर्यात गर्न सकिने श्रेष्ठले बताए । युवा उद्यमी खरेलले सरकारसँग पहल गरेर साना तथा मझौला उद्योगलाई प्रबर्द्धन गर्न सकिने बारेमा धारणा राखे ।
उनले व्यापार तथा व्यवसायलाई कृषिबाट सुरु गर्न सकिने बताए । `अस्ट्रेलियनले अमिलो पिरो खान रुचाउँछन्, उनीहरूको स्वाद बुझेर हामीले उत्पादन गरेका वस्तुलाई त्यहाँसम्म लैजान सक्छौँ । उनीहरूसँग मिलेर साझेदार उद्यम र व्यापार गर्न सक्छौँ´, खरेलले भने । कार्यक्रमका सहभागीले खरेलसँग दिगो व्यापार कसरी स्थापना गर्न सकिन्छ भन्ने बारेमा जिज्ञासा राखेका थिए ।
भरतपुर घर भएका खरेल अस्ट्रेलियामा प्राध्यापन गर्दछन् । उनी अस्ट्रेलिया नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष हुन् । अष्ट्रेलियामा लोकप्रिय युवा व्यक्तित्व उनका परोपकारी, सामाजिक तथा उद्यमशीलताका अनवरत र सार्थक प्रयास तथा अभ्यासहरुको अष्ट्रेलिया र नेपाल दुवै देशमा उत्तिकै चर्चा हुने गर्दछ । उनी अस्ट्रेलियास्थित इनोभेटिभ एसोसिएट्सका प्रिन्सिपल हुन् । उक्त संस्थाले कर, वित्त तथा बैंकिङ सेवा सम्बन्धि काम गर्दछ । खरेल सन् २००५ मा अस्ट्रेलिया गएका हुन् ।