मकवानपुर, १४ फागुन ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ११ जनालाई सम्मान गर्ने भएकाे छ ।
प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार भेटघाट गरी २०८० सालमा स्थापना गरेका राष्ट्रिय स्तरमा ४ वटा फरक विधाका पुरस्कारहरू तथा विगत वर्षबाट प्रदान गर्दै आएकाे विविध विधाका ७ वटा पुरस्कारसमेत प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।
११ वटै विधाका पुरस्कार फागुन १७ गते शनिबार हेटाैंडामा एक कार्यक्रमकाे आयोजना गरी प्रदान गरिने बताइएकाे छ ।
यस वर्षबाट प्रदान गर्न लागिएकाे भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८१ बाट साहित्यकार माया ठकुरी (काठमाडौं) सम्मानित हुने भएकी छिन् । यसै गरी भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८१ बाट गायक हेमन्त शर्मा (रुपन्देही), भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८१ बाट कलाकार भोलाराज सापकोटा (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८१ बाट पत्रकार ठाकुर बेल्वासे (काठमाडौं) सम्मानित हुने भएका छन् ।
उल्लेखित पुरस्कारकाे राशि जनही २५/२५ हजार रुपैयाँ रहेकाे छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले उल्लेखित पुरस्कार गत वर्ष स्थापना गरेको श्रेष्ठले बताए ।
यस्तै प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई प्रदान गर्दै आइरहेका विभिन्न ७ वटा पुरस्कार तथा सम्मान समेत शनिबार प्रदान गर्ने भएकाे छ । तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८१ महिला उद्यमी शोभा श्रेष्ठ (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ ।
यसैगरी भीम – मथुरा बाल प्रतिभा पुरस्कार, २०८१ विद्यार्थी रितिका छत्कुली (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । विन्दुगोपाल गोर्खालीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैयाँ रहेकाे छ । शिला नारी पुरस्कार, २०८१ बाट महिला उद्यमी मेनका श्रेष्ठ (मकवानपुर) सम्मानित हुने भएकी छिन् । आशीष श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ ।
यस्तै रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८१ बाट लाेक दोहाेरी गायक कुलेन्द्र विश्वकर्मा (पर्वत) सम्मानित हुने छन् । चुनु बानियाँले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि २० हजार रुपैयाँ रहेकाे छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८१ बाट साहित्यकार दीपक गौतम मकवानपुर सम्मानित हुने भएका छन् । रामबहादुर पाख्रिनले स्थापना परेकाे उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ ।
मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८१ स्वास्थ्यकर्मी निर्मला ब्लोन (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैयाँ रहेकाे छ । अजित सेन- कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार, २०८१ बाट दृष्टीविहीन मेकानिक सुदर्शन ढकाल (मकवानपुर) सम्मानित हुने भएका छन् । रोशन सेन गुप्ता स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैयाँ रहेकाे छ ।
उल्लेखित पुरस्कार तथा सम्मान कार्यक्रमकै दिन शनिबार प्रतिष्ठानको कोष वृद्धिको उद्देश्यले गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुति सहितको साङ्गीतिक कार्यक्रम समेत रहने प्रतिष्ठान महासचिव छवि अनित्यले जानकारी दिए । वरिष्ठ कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरुप २०५९ भदौ ७ गते भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल स्थापना भएकाे हाे ।