काठमाडौँ, १३ फागुन ।
त्रिभुवन विश्वविद्यालय (टियु)ले भारतको ओडीसास्थित केआइआइटी विश्वविद्यालयबाट नेपाल फर्किएका विद्यार्थीहरूको भर्ना लिने भएको छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार विज्ञप्ति जारी गरेर नेपाल फर्किएका विद्यार्थीहरू पढ्न चाहेमा भर्ना लिने जानकारी दिएको हो ।
टियुले विश्वविद्यालयको क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना लिन सकिने जानकारी दिएको छ । ‘भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना गर्न सकिने ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ टियुको विज्ञप्तिमा भनिएको छ ।
उसले इच्छुक विद्यार्थी र अभिभावकलाई इमेलमार्फत सम्पर्क गर्न भनेको छ ।
टियुले rectoroffice@tu.edu.np र rector@tu.edu.np गरी दुई इमेल जारी गरेको छ ।
गत १६ फेब्रुअरीमा केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनको मृत्युपछि केआइआइटी प्रशासनले विश्वविद्यालय र होस्टेल छाड्न नेपाली विद्यार्थीहरूलाई निर्देशन दिइएको थियो । नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेर रेलवे स्टेशन पुर्याइएको थियो । यस विषयमा दुई देशको केन्द्रीय सरकारले नै कूटनीतिक माध्यमबाट संवाद गर्न परेको थियो ।