जसले, जहाँ, जहिले, जसरी
जस्तो अवस्थामा भेटिन्छ,
उसैले त्यस्तै अवस्थामा त्यहीँ
ठाउँको ठाउँ ठहरै हुनेगरी
कुट्नैपर्ने कुलङ्गार कुपुत्रहरु पुग्दारहेछन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
खत्तम पारिछाडनुपर्ने खलनायकहरु पुग्दारहेछन्-
बलियो बोरामा हालेर तार्सेभिरबाट गुल्ट्याइदिनुपर्ने
गतिछाडा मतिहीन गोबरगणेशहरु पुग्दारहेछन्-
आजीवन उक्किनै नसक्नेगरि भित्तोमा टासेर
भित्तैसित घुचेटिदिनुपर्ने घुर्यानहरु पुग्दारहेछन्-
पुरै नाङ्गेझार पारी मैनीखामोमा बाधेर
सिस्नोपानी लगाएर चुट्नैपर्ने चोरहरु पुग्दारहेछन्-
बेतको लट्ठीले कुट्नैपर्ने हरामखोरहरु पुग्दारहेछन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
घर- परिवारभित्रैबाट घोक्रेठ्याक लगाएरै भए पनि
अब कुनै बहाना नगरिकन जतिसक्दो छिटो निकाल्नैपर्ने,
कुलघरानकै सबैभन्दा नालायक “किरो” लागिसकेका,
अन्धभक्तसहित आफैंले आफैंलाई “हिरो” सम्झिरहेका
तर हरेक हिसाबले “जिरो” भइसकेका द्रव्यपिचास
उत्तरआधुनिक कुम्भकर्णे “निरो” हरु पुग्दारहेछन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
आफू घरमूली भएको अहंकारमा
पग्लिएर हिउँ जस्तै स्वाभिमान
वर्षौंदेखि घरानिया मूलनीतिलाई
बनाइरहेको हुनाले रछ्यान जस्तै
टेकेरै भए पनि बेतबासको लठ्ठी
उभिएर आफ्नै खुट्टामा निर्धक्कसङ्ग
सुइरुपी कुचो लगाएर घण्टी बजाउदै
घरायसी निर्वाचनको माध्यमबाट
बढार्नैपर्ने कसिङ्गरहरु पुग्दारहेछन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा,
जसले बिझाइरहेका छन् वर्षौंदेखि
अल्झिबसेर आफ्नै स्वजनको आँखामा !
घोषणा गरिदिएर
आजीवन प्रवेश- निषेधको
मूलघरबाटै जतिसक्दो छिटो
अन्तिम बिदाइ गर्नैपर्ने बदमाश
बोक्सी बिरालोका छौँडाहरु पुग्दारहेछन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
आफू आजीवन भोकै- नाङ्गै बसेर
पौरखी पिता- पुर्खाहरुद्वारा आर्जेर
बचाइदिएको अनमोल नासोरुपी
सुन्दर, शान्त हाम्रो प्यारो मूलघरलाई
दिनप्रतिदिन कुरुप, अशान्त बनाउदै
आत्मसम्मानको अस्तु बेचेरै भए पनि
सबैभन्दा माथिल्लो तलामा पुगिछाड्ने
आफ्नो निहित स्वार्थ पुरा गर्नकै लागि
मूलघरको साध क्रमशः साघुर्याइरहेका,
मझेरीकै माटो बेचेर दौरासुरुवाल लगाइरहेका,
पतिपत्नीको साइनो बिर्सेर व्यभिचारमा रमाउदै
सिद्वि प्राप्तिको खोजीमा भौंतारिरहेका,
छोरालाई भाकेर बलि पुजा गर्दै
छोरी बेचेर घरमूलीको श्रीपेच लगाइरहेका,
पुर्ख्यौली संस्कारलाई चटक्कै भुलेर
“होली वाइन” को डलरमा बिकिरहेका,
समृद्धिको मुहान चिप्रीक्कै थुनिदिएर
गरीबीको अनन्त गहिराइमा डुबुल्की मार्दै
र्याल काढ्दै बसेर “तर” मार्न पल्किएका
विवेकहीन ढाडे बिरालाहरुलाई हराउँदै
स्वाभिमानी घरपरिवारजनको
जीत सुनिश्चित गर्नैका लागि
जमानतसमेत जफत हुनेगरि
हराउनैपर्ने हरामीहरु पुग्दारहेछन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
छाला काढी नुनखुर्सानी दलेर
मध्येरातमा मसानघाटको बाटो
लखेट्नैपर्ने लुटेराहरु पुग्दारहेछन्-
ज्युदै डढाएर छाड्नुपर्ने डाकाहरु पुग्दारहेछन्-
खाल्टोमा ज्युदै गाड्नुपर्ने काकाहरु पुग्दारहेछन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
बसेर विस्मृतिको असीमित अँध्यारोमा
कथेर भ्रम र द्विविधाको बोक्रे आत्मकथा
अन्यौल र दोधाररुपी दुई आँखामा
अज्ञानताको ढ्याब्रे चस्मा लगाइरहेका
उत्तरआधुनिक धृतराष्ट्रहरु पुग्दारहेछन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !!