भरतपुर, १३ फागुन ।
कालिका माध्यमिक विद्यालय गैंडाकोट- ८ नवलपरासीका शिक्षक भानुभक्त सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर आफैले पढाउने विद्यार्थीलाई उनीहरूले पढ्ने खालका पत्रिका उपहारस्वरूप उपलब्ध गराउनु भएको छ ।
सोमबार परेको जन्मदिनका अवसरमा उहाँले कक्षा ११ र १२ का विद्यार्थीलाई युवामञ्च, मधुपर्क साथै कक्षा ५ का विद्यार्थीका लागि मुना पत्रिका उपलब्ध गराउनुभएको छ । शिक्षकको जन्मदिनमा पढ्ने सामग्री पाउँदा विद्यार्थी खुसी देखिएका थिए । जन्मदिन मनाउने बहानामा फजुल खर्च गर्ने प्रचलन बढ्दै गइरहेको सन्दर्भमा विद्यार्थीलाई मितव्ययी बनाउन अरु खर्च नगरी उनीहरूलाई पढ्ने सामग्री दिइएको शिक्षक सापकोटाले बताउनु भयो । `मधुपर्क, युवामञ्च र मुना जस्ता पत्रपत्रिका विद्यार्थीका लागि उपयोगी हुन्छन् । हाम्रो पालामा हामीले यिनै पत्रपत्रिका पढेर हुर्किएका हौँ । यी पत्रपत्रिका पढ्ने गरेमा विद्यार्थीलाई पनि व्यावहारिक ज्ञान मिल्दछ´, उहाँले भन्नुभयो – `जन्मदिन मनाउने सन्दर्भमा हामीले विद्यार्थीलाई केक काट्ने संस्कृतितिर लैजानु भन्दा जन्मदिनमा सरसफाइ गर्ने, वृक्षरोपण गर्ने, आश्रममा खाना तथा नाना दिने, देवालयहरूको दर्शन गराउने अभियान चलाउन सकिन्छ ।´
विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले आजका शिक्षकले विकृतिको सिकाइ भन्दा संस्कृतिको रक्षामा लाग्न विद्यार्थीलाई सिकाउन जरुरी रहेको बताउनुभयो । त्यसैगरी शिक्षक झलकराज पौडेलले विद्यार्थीलाई राम्रा कुरा सिकाउन अभिभावक र शिक्षक दुबैको उत्तिकै भूमिका हुने बताउनुभयो ।
जन्मदिनमा विद्यार्थीलाई पुस्तक तथा शैक्षिक सामग्री दिने प्रचलन चितवनमा पछिल्लोसमय अभियानका रूपमा चलिरहेको छ । नारायणगढस्थित सम्पूर्ण किताबले यो अभियानमा सहजीकरण गरिरहेको छ । फागुन महिनाको पहिलोसाता एसओएस स्कुल भरतपुरमा कक्षा ८ मा पढ्ने छात्र आरुष बढुले पनि आफ्नो जन्मदिनको अवसर पारेर कक्षा ८, ९ र १० का सबै विद्यार्थीलाई मुना उपलब्ध गराउनुभएको थियो ।