मकवानपुर, १२ फागुन ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् ।
कांग्रेस र एमालेमा बईमानी पलाए मात्र सरकार ढल्ने उनले बताए । दुबै दल इमानदार हुँदासम्म ओली नेतृत्वको सरकार नढल्ने उनले जिकिर गरे ।
सोमबार एमाले जिल्ला कमिटी मकवानपुरको बैठकमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक स्थायित्वको लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताए ।
२०७९ को निर्वाचन पछि राजनीतिक अस्थिरतको बिगबिगी चलिरहेको समयमा दुबै दलले आपसमा सहकार्य गरेको उनकाे भनाई थियाे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादी केन्द्रतर्फ संकेत गर्दै कांग्रेस म्याजिकल नम्बरको चक्करमा फस्दा २०७९ को निर्वाचनपछि राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको जिकिर गरे । कांग्रेससँग मिल्दै गर्दा आगामी चुनावीमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी दल हो भन्ने कुरालाई नभुल्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ को चुनावमा प्रतिस्पर्धा गदैगर्दा नेपाली कांग्रेसले मुलुक समस्या समाधान गर्न नसक्ने जिकिर गरे । राष्ट्रमा देखिएको संकट समाधानको लागि पनि एमालेले आगामी चुनावमा बहुमत ल्याउनुपर्ने उनले बताए ।
`एमालेले बहुमत ल्याउन नसक्दा मुलुक फेरि पनि राजनीतिक अस्थिरताको भुमरीमा फस्छ´ उनले भने । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा समेत जोड दिए ।
उनले लोकतन्त्रलाई सबल बनाउन पनि एमाले बलियो हुनुपर्ने बताए । एमालेको नेतृत्वलाई बदनाम गराउन विभिन्न तत्वहरु क्रियाशील हुँदा कार्यकर्ता पंक्ती चुप लागेर बस्न नमिल्ने उनको भनाई छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले वडा तहबाटै एमालेलाई बलियो बनाउनुपर्ने बताए । जनताको मन जितेमात्र मत प्राप्त गर्न सकिने भएकोले जनचाहना बुझेर काम गर्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए।
यसैबीच नेकपा एकीकृत समाजवादीका पूर्व बागमती प्रदेश कमिटी सदस्य शिवहरी बर्तौला सहित २ दर्जन नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।