मकवानपुर, ११ फागुन ।
मकवानपुरे साहित्यकार राम कार्कीको गजलसंग्रह `तृप्ति´ विमोचन भएको छ । साहित्य संगम मकवानपुरको ३५२ औँ नियमित साहित्य सन्ध्यामा शनिबार कार्कीको उक्त गजलसंग्रह विमोचन गरिएको हो ।
प्रा.डा. चुडामणि बन्धुको प्रमुख आतिथ्य तथा प्रा. डा. नारायणप्रसाद खनाल र बाल साहित्यकार प्रमोद प्रधानको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमलाई साहित्य संगमका उपाध्यक्ष सानु खनालले स्वागत गरेका थिए ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विमोचित गजलसंग्रहको समीक्षा गरेका कार्यक्रममा पाँचथरकी पोना हाङ्वा, महोत्तरीकी प्रतिमा पौडेल, सिन्धुलीका केशव घिमिरे, बागलुङकी सुरक्षा गौतम, बाजुराका सुनिल बुढा कछुवा र गायक यादव श्रेष्ठले कार्यक्रममा रचना वाचन गरेका थिए ।