धनगढी, ११ फागुन ।
टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण फागुन २४ गतेदेखि सुरु हुने भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा टीकापुर नगर विकास समितिको सभाहलमा फागुन २४, २५ र २६ गते साहित्य महोत्सव हुने भएको हो ।
टीकापुर साहित्य महोत्सवको पहिलो संस्करण २०७९ मा भएको थियो । टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणलाई ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
दोस्रो संस्करणमा नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँरको समग्र व्यक्तित्व र कृतित्वका बारेमा चर्चा र विचारविमर्श हुने संयोजक महेशविक्रम शाहले बताए ।
‘यस महोत्सवका माध्यमबाट साहित्यका नयाँ पुस्ता, आम नागरिक, शिक्षक तथा विद्यार्थीहरूले पहलमानसिंह स्वाँरज्यूलाई चिन्ने र उहाँको योगदानलाई परख गर्ने अवसर पाउने छन्,’ उनले भने, ‘टीकापुर साहित्य महोत्सव, ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ तीन दिनको हुनेछ । महोत्सवमा जम्मा २१ बहस सत्रहरू रहनेछन् ।’
हरेक बहस सत्र १–१ घण्टाको हुने जनाइएको छ । लेखक तथा अध्येता हरि शर्माको विद्वत प्रवचनबाट थालनी हुने महोत्सवमा दर्शक – स्रोताहरूलाई टीकापुरमा पहिलोपटक नेपाली साहित्यका शिखर व्यक्तित्व प्रा. डा. अभि सुवेदीका कुराहरू सुन्ने अवसर प्राप्त हुने संयोजक शाहले बताए ।
आम पाठकलाई लेखक र पुस्तकहरूको विस्तृत श्रृंखलामा पहुँच प्रदान गरेर शिक्षा, बौद्धिक संलग्नता र आलोचनात्मक सोचलाई प्रोत्साहित गर्ने महोत्सवको उद्धेश्य रहेको उनको भनाइ छ ।
उनका अनुसार दोस्रो संस्करणमा टीकापुर साहित्य समाजले स्थापना गरेको रू. एक लाख राशिको खड्गस्मृति राष्ट्रिय गौरव पुरस्कार यस वर्ष टीकापुर नगरको स्थापना कालदेखि नै शिक्षाको ज्योति प्रज्ज्वलित गरि यहाँका विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा आफ्नो सारा जीवन अर्पण गर्ने धनन्जय तिमिल्सिना तथा बलबहादुर रावललाई प्रदान गर्ने निर्णय गरिएको छ । यसैगरी रू. ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार ग्रन्थ ऐँठनका लागि नेपालको जेठो तथा प्रतिष्ठित मदन पुरस्कार प्राप्त गर्न सफल विवेक ओझालाई प्रदान गरिएको जनाइएको छ ।
महोत्सवमा को–को आउँदैछन् ?
महोत्सवमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धि सागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रन्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयहरूमाथि बहस गर्ने छन् भने गैरआख्यानकार विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनका बारेमा विचार विमर्श तथा विश्लेषण गर्ने आयोजकले जनाएको छ ।
गैर आख्यानकार तथा समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा. ब्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति डा. अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्ने बताइन्छ ।
नेपाली काव्य विधामाथि कवि श्यामल, विप्लव प्रतीक, सीमा आभास तथा सुदूरपश्चिमका प्रतिभाशाली युवा कविहरू देवव्रत, खेम बतास, बिपी अस्तु, हेमन्त शिशिर र कल्पना जोशीले बहस गर्ने जनाइएको छ ।
नेपाली नाटक परम्परा र विकासको व्यावसायिकताका संबन्धमा नेपाली नाटक विधाका चर्चित व्यक्तित्व सुनिल पोखरेल, घिमिरे युवराज, पशुपति राई र सुशीला तामाङ्ले आफ्ना धारणा राख्ने छन् । चर्चित अभिनेत्री केकी अधिकारी तथा अभिनेता विजय बरालको उपस्थितिले महोत्सवलाई रङ्गमय बनाउने छ । हिट फिल्म निर्माणमा सफल निर्देशक प्रदीप भट्टराई र अभिनेता तथा फिल्म निर्माता रविन्द्रसिंह बानियाँले नेपाली चलचित्रमाथि बहस गर्नेछन् ।
साहित्यका साथै महोत्सवमा वैकल्पिक राजनीति, स्थानीय तहमा महिलाको नेतृत्व, समाज, थारू संस्कृति, विकास, पर्यटन, दलितका मुद्धा, जीवन दर्शन, नेपाली चलचित्र तथा टीकापुरका चुनौती र अवसर आदि बिभिन्न विषयहरूमाथि बहसहरू गरिने आयोजकले जनाएको छ ।
दोस्रो संस्करण ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण भएकोले अग्रज साहित्यकार पहलमानसिंह स्वाँरका संबन्धमा उहाँकी नातिनी ईश्वरी स्वाँर, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी तथा उहाँमाथि अध्ययन, अनुसन्धान, शोध र अध्यापन गरिरहेका विज्ञ व्यक्तित्वहरूले साहित्यकार पहलमानसिंह स्वाँरको व्यक्तित्व, कृतित्व र उहाँको नेपाली साहित्यमा योगदानका सम्बन्धमा प्रकाश पार्ने जनाइएको छ ।
महोत्सवको तेस्रो दिन ‘टीकापुरको विकास : अवसर र चुनौती’ शीर्षकमा टीकापुरका मेयर रामलाल डगौरा थारू, पूर्व मेयर तपेन्द्र रावल तथा वीरेन्द्र विद्या मन्दिर शैक्षिक गुठीका अध्यक्ष नवराज रावलले बहस गर्ने बताइएको छ ।
यसैगरी ‘किन ओझेलमा छन् दलितका मुद्धा’ शीर्षकमा माननीय सन्तोष परियार, अभियन्ता रीता परियार तथा डा. रणबहादुर रावलले बहस गर्नेछन् । ‘संघीय सरकारको नीतिमा सुदूरपश्चिमम’ शीर्षकमा कैलालीबाट प्रतिनिधित्व गर्ने सांसद ईश्वरी न्यौपाने, गरिमा शाह र कैलाश चौधरीले बहस गर्ने आयोजकले जनाएको छ ।
महोत्सवको पहिलो दिन काव्य सन्ध्या हुनेछ । काव्य सन्ध्याम सातै प्रदेशको प्रतिनिधित्व हुने गरि वर्तमान समयका चर्चित र सशक्त कविहरू श्यामल, विप्लव प्रतीक, सीमा आभास, रोशन परियार, अविनाश भट्टराई, एस लामा, शान्तिप्रिया वन्दना, शान्ति शर्मा, प्रभा भट्टराई, प्रज्ज्वल अधिकारी, रसिक राज, कल्पना जोशी, देवव्रत, खेम बतास र हेमन्त शिशिर आदि कविहरूले कविता वाचन गर्ने छन् ।
महोत्सवको दोस्रो दिन गजल सन्ध्याको आयोजन हुनेछ । गजल सन्ध्यामा चर्चित तथा लोकप्रिय गजलकारहरू संगीता थापा, प्रदीप रोदन, पुष्पराज आचार्य, रूपक बनवासी, सुमन स्मारिका, अमला अधिकारी, मुना बोहराजस्ता आजका लोकप्रिय गजलकारहरूले गजल महफिल जगाउने छन् । तेस्रो दिन संगीत सन्ध्या हुनेछ । संगीत सन्ध्यामा सुदूरपश्चिमका लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् ।
साहित्यको अध्ययनले हामीमा हाम्रो पहिचान, कल्पना र समानुभूतिको अवधारणा विकास गर्ने संयोजक शाहले बताए । ‘आजको बढ्दो अराजक संसारमा, साहित्यको ज्ञान र सीपहरू झन् औचित्यपूर्ण र महत्त्वपूर्ण हुँदै गएका छन्,’ उनले भने, ‘लेखकहरूका साहित्यिक कर्मलाई प्रवद्र्धन गर्ने र बुद्धिजीवीहरूसँग मानिसहरूको अपेक्षा र चासो जोड्नुका साथै महोत्सवले ज्ञान फैलाउने र पाठकहरूको रूपमा आफ्ना सीमितताहरू बुझ्ने मञ्चका रूपमा पनि काम गर्छन् । साहित्य महोत्सवले लोकतान्त्रिक संस्कृतिको विकासमा टेवा पुगाउनेछ ।’
टीकापुर साहित्य महोत्सव आयोजनाको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय रहेको छ भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान महोत्सवको प्रवद्र्धक छ । सहप्रवर्धक टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहने आयोजकले जनाएको छ ।
‘टीकापुर साहित्य महोत्सव, पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ भव्यरूपमा सफल बनाउन टीकापुर साहित्य समाजले सबै टीकापुरबासीको साथ, सहयोग, सुझाव र सहभागिताका लागि अपिल पनि गरेको छ ।