रत्ननगर, १० फागुन ।
रत्ननगर नगरपालिका शिक्षा तथा खेलकुद शाखासँगको समन्वय, रत्ननगर वाङ्मय प्रतिष्ठानको प्राज्ञिक सहयोग तथा अनकोन र आमा फाउण्डेशनको आर्थिक सहयोगमा शुक्रबार लाइसियम स्कुल रत्ननगरमा `म पुस्तक पढ्छु´ कार्यक्रमको दोस्रो शृङ्खला विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तको अध्यक्षता तथा रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
लाइसियम स्कुलको नयाँ भवन निर्माणस्थल, रत्ननगर १०, हरिहर टोलमा सम्पन्न उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र तथा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार दिइएको थियो । सहभागी भएका १८ वटा विद्यालयका प्रतिनिधि विद्यार्थीहरु मध्ये स्काइराइडर आवासीय माध्यमिक विद्यालयका छात्रा प्रशंसा पुुरी प्रथम, प्यारागन माध्यमिक विद्यालयका छात्रा तेजश्वी आचार्य द्वितीय र नर्थप्वाईन्ट एकेडेमीका छात्रा आयुषा भट्टले तृतीय स्थान हासिल गरि क्रमस ५०००, ३००० र २००० नगद पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
रत्ननगर वाङ्मय प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनाल, सदस्य केशवराज आमोदीसहितको मूल्याङ्कन समूहको नेतृत्व गरेका प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले लाइसियम स्कुलले सबैलाई जुटाएर पठन संस्कृतिको विकास सम्वन्धि प्रभावकारी कार्यक्रमको थालनी गरेकोमा खुशी लागेको बताउनुभयो । यस्ता कार्यक्रमहरुमा प्रतिष्ठान तथा आफ्नो तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै घिमिरेले सहभागी विद्यार्थीहरुको अध्ययनपछिको उत्कृष्ट प्रस्तुतिले आफू अत्यन्त खुशी भएको र पठन संस्कृतिमा ह्रास आएको नभई पढाउन नसकिएको हो कि भन्ने लागेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा अनकोनका नेपाल प्रतिनिधि वासुराज विष्ट तथा आमा फाउण्डेशनका प्रतिनिधि नवीन जोशीले विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि आफू सम्वद्ध संस्थाले विगत देखिनै विभिन्न रचनात्मक सहयोग गरीरहेको र आगामी दिनमा पनि यसैगरी सहयोग गरीरहने वचनवद्धता प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिका शिक्षा अधिकृत सुमन सिलवाल, रत्ननगर प्याब्सनका सचिव तथा नर्थप्वइन्ट एकेडेमीका प्रधानाध्यापक टेकनाथ अर्याल, कालिका प्याब्सनका अध्यक्ष तथा पदमपुर शिक्षा निकेतनका प्राधानाध्यापक होमबहादुर थापाले शुभकामना मन्तव्य सहित पठन संस्कृतिका सम्वन्धमा आफ्ना समसामयिक भनाई राख्नु भएको थियो । लाइसियम स्कुलका शिक्षक भीमाकुमारी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रबन्ध निर्देशक सन्तोष पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो ।