मकवानपुर, ९ फागुन ।
सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये २ लाख ५६ हजार १९१ जनाले खोप लगाएका छन् । अभियानमा २ लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । अभियान गत २२ माघदेखि शुरू भएर ६ फागुनमा सकिएको अभियान अन्तरगत ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लामध्ये लक्ष्यको सबैभन्दा बढी नुवाकोटमा सबै भन्दा बढी ९९.८३ प्रतिशत किशोरीहरुले खोप लगाएका छन् । मन्त्रालयका अनुसार नुवाकोटमा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा अभियानको अन्तिम दिन ६ फागुनसम्म ११ हजार १६० जना किशोरीहरुले खोप लगाएका हुन् । यस्तै दोलखामा लक्षित किशोरीमध्ये ९९ प्रतिशतले खोप लगाएका छन् । दोलखामा ६ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ४८० जनाले खोप लगाएका हुन् ।
यसैगरी, रामेछापका सात हजार ७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ९५२ अर्थात् ९८ प्रतिशत, सिन्धुपाल्चोकका १० हजार ४६८ मध्ये १० हजार ११७ अर्थात् ९७ प्रतिशत, सिन्धुलीका १४ हजार ६२२ मध्ये १४ हजार ८२ अर्थात् ९६ प्रतिशत, बागमती प्रदेशमा सबैभन्दा कम रसुवाका एक हजार ६८६ जनामा एक हजार ६२० अर्थात् ९६.१ प्रतिशतलाई एचपिभी खोप लगाइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार काभ्रेका १६ हजार ११३ जनामा १५ हजार ५१५ अर्थात् ९६ प्रतिशत, धादिङका १४ हजार ५७३ जनामा १३ हजार ८२४ अर्थात ९५ प्रतिशत, मकवानपुरका २२ हजार ७१३ जनामा २० हजार ९३ अर्थात ८८ प्रतिशत, चितवनका ३१ हजार ५७० जनामा २६ हजार ४४७ अर्थात ८४ प्रतिशत किशोरीले खोप लगाएका छन् । भक्तपुरका १९ हजार २९५ जनामा १६ हजार ३७६ अर्थात ८५ प्रतिशत, प्रदेशमा सबैभन्दा बढी काठमाडौंका एक लाख ११ हजार १०४ जनामा ८८ हजार १०८ अर्थात ७९ प्रतिशत र ललितपुरका ३१ हजार ९८५ जनामा २५ हजार ११७ जना अर्थात ७९ प्रतिशत किशोरीले एचपिभी खोप लगाएका छन् ।
अभियानका क्रममा ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि प्रदेशमा आठ हजार ७३६ स्वयंसेवक र चार हजार ३२४ जना कर्मचारी खटाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानमा खोप लगाउन छुटेका किशोरीलाई नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।