चितवन, ७ फागुन ।
प्रजातन्त्र दिवसको अवसरमा चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघले भरतपुरको चौबिसकोठीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५ जना महिला सहित ४८ जनाले रक्तदान गरेका छन् ।
चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघका अध्यक्ष राम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी थिए । रक्तदान कार्यक्रम नेपाल बजार बिक्री प्रतिनिधि संघ नारायणी क्षेत्रीय समिति चितवनको सहआयोजना एवम् प्रादेशिक रक्तसंचार चितवनसँगको सहकार्यमा भएको हो ।
‘हामी सेवा गछौँ’ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी सघंका वरिष्ठ उपाध्यक्ष निर्मल पौडेलले बताए । कार्यक्रममा बोल्दै पौडेलले स्थापनाकालदेखि नै मदिरा व्यवसायी संघले सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिँदै आएको र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए ।
यसैबीच चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी सघंको आठौँ साधारण सभा एवम् चौंथो अधिवेशनले रामबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष निर्मल पौडेल, महासचिवमा टेकनारायण शर्मा, कोषाध्यक्षमा तुलनारायण श्रेष्ठ, सचिवमा सूर्यप्रसाद दाहाल र सदस्यहरुमा यादवकुमार लोहनी, दीपकप्रसाद सापकोटा, श्याम कंडेल, सूर्य विक, दिवस आचार्य, हरिप्रसाद शर्मा, सुधा आचार्य र रुपा पौडेल चयन भएका छन् । नारायण प्रधान, रवि श्रेष्ठ, निरेशकुमार सिंह र लेखनाथ आचार्य सहल्लाकार रहेका छन् ।