माडी, ७ फागुन ।
दिवंगत कलाकार एवं शिक्षक भुपराज पाठकलाई माडीकै महेश्वरी गंगा (मगोइ नदी)मा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिका क्रममा सयौंको संख्यामा आफन्त, ईष्टमित्र, छिमेकी एवं शुभेच्छुकहरु सागर (महेश्वरी गंगा) पुगेका थिए ।
रक्तक्यान्सर एवं क्षयरोग रोगको उपचारका क्रममा भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करिब ७ः३० बजे उनको निधन भएको थियो । पाठकको निधनसँगै उनको परिवारजन एवं समग्र माडी क्षेत्रमै शोक छाएको छ भने सयौंले सामाजिक सञ्जालमार्फत दिवंगत पाठकप्रति समवेदना व्यक्त गरेका छन् ।
यसैबिच, पाठकको निधनका सन्दर्भमा माडी नगरपालिकाले शैक्षिक संस्थाहरुमा एक दिन शोक बिदा दिएको छ । ‘माडी नगरपालिका अन्तरगत रहेको दिवाकर स्मृति माध्यामिक विद्यालयमा कार्यरत शिक्षक रहेका पाठकको निधनको शोकमा फागुन ८ गते बिहीबार एकदिनका लागि माडी नगरपालिका भित्रका सबै विद्यालय एवम् शिक्षण संस्थाहरू विदा रहने’ नगर कार्यपालिकाले जनाएको हो ।
विद्यालयहरुमा शोक बिदा दिइएसँगै माडी–५, ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा आयोजिक वक्तृत्वकला प्रतियोगिता समेत एक दिनका लागि पछि सरेको छ । विद्यालयको ४०औं वार्षिकोत्सवका अवसरमा सो विद्यालयले वक्तृत्वकला प्रतियोगिता सहित आधारभूत तह छात्र भलिबल प्रतियोगिता समेत आयोजना गरेको जनाएको हो ।