देवघाटधाम, ७ फागुन ।
महेश सन्न्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्र ( Ramananda Research Center ) को आयोजनामा कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय महत्त्वको पहिचान र मानवीय अतिक्रमणको निदानका निम्ति साझा विचार र योजना निर्धारण गर्ने उद्देश्यले विमर्श सभा सम्पन्न भएको छ ।
पवित्र कालीगण्डकी नदीको प्राकृतिक स्वरूप र संरचना संरक्षणका निम्ति जनस्तरबाट गरिनुपर्ने साझा पहल र सूचना निर्धारण गर्ने उद्देश्यले अभियन्ता र सरोकारवालाहरूको विशेष सहभागितामा रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा महेश सन्न्यास आश्रम देवघाटमा गण्डकीका जीवनहरू विषयक विमर्श सभा भएको हो ।
रामानन्द अनुसन्धान केन्द्र पूर्वीय संस्कृति, धर्म, दर्शन, सभ्यता र ज्ञानविज्ञानको अध्ययन अनुसन्धानका निमित्त खोलिएको हो र विगतका दिनहरूमा पूर्वीय वाङ्मय र सभ्यतासँग सम्बन्धित विचार-विमर्श, सङ्गोष्ठी आदि गर्दै आइरहेको थियो । त्यसैका सन्दर्भमा पूर्वीय सभ्यतामा पूजित एवं पुराणहरूमा वर्णित गण्डकी सभ्यताको अस्तित्त्व रक्षार्थ विमर्श सभा गरिएको हो ।
कालीगण्डकी सनातन अनुयायीहरूले अत्यन्तै आस्था राख्ने पवित्रतम नदी हो । समृद्ध सभ्यता भएर पनि राज्यका तर्फबाट तथा जनसमुदायका तर्फबाट वेवास्ता गर्दै नदीको अस्तित्त्वलाई नै सङ्कटमा पार्ने गरी दोहन तथा प्रस्रवण नै पथान्तर (कालीगण्डकी डाइभर्सन) गर्ने सम्मका गतिविधिमा अघि बढेको देखिन्छ । त्यसको रोकथामका निम्ति सो विमर्श सभा अत्यन्तै उपयोगी मूलक देखिन्छ ।
कानुनी प्रक्रियाबाट नदी संरक्षणमा गरिएका पहलहरू, दोहन तथा अतिक्रमणका विरूद्धमा भएका प्रयासहरू, पुराण तथा शास्त्रहरूमा वर्णित गण्डकी सभ्यता र त्यसको महत्त्व, शालग्रामको महत्त्व आदि विषयमा विमर्शहरू भएका छन् ।
जसमा प्रा.डा. जगन्नाथ रेग्मीले कालीगण्डकीको पौराणीक महत्त्वमा कार्यपत्र प्रस्तुत गरेका थिए । डा रामचन्द्र बरालले बोन सभ्यता, कालीगण्डकी संस्कृति र त्यस्को तटीय क्षेत्रमा रहेका जात जाती र सभ्यताको कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी कालीगण्डकी बचाअौँ अभियानका आरके अदीप्त गिरीले कालीगण्डकी माथि भैरहेका मानवीय अतिक्रमण र दोहन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी रचना भट्टराईले शालग्राम र त्यसको महत्त्व सम्बन्धि विचारपत्र प्रस्तुत गरेका थिए भने डा कुलराज चालिसेले कालीगण्डकी पथान्तरणले निम्त्याउने असरका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त विमर्श सभामा ५ बुँदे गण्डकी घोषणापत्र २०८१ पनि सार्वजनिक भएको छ ।
प्रस्तुत कार्यपत्रमा निम्न घोषणाहरू भएका छन् :
१. पवित्र कालीगण्डकी नदीलाई संसारभरका हिन्दु सनातनीहरूको साँस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न अभियान सञ्चालन गर्ने,
२. कालीगण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाह सुरक्षित गर्ने,
३. गण्डकीको तल्लो तटीय क्षेत्रसम्म शालग्रामको निर्बाध उपलब्धतामा बाधा व्यवधान गर्ने मानवीय अतिक्रमण र दोहनको विरोध गर्ने,
४. गण्डकीका गर्भक्षेत्रमा हुने मानवीय प्रदूषण (फोहोर, मैला, मल-मूत्र विसर्जन) को निराकरणका निम्ति जनचेतनाका कार्यहरू गर्ने,
५. कृष्णागण्डकीको दुर्लभ महत्त्व र सौन्दर्यको प्रचार-प्रसार गरी धार्मिक पर्यटनको प्रवर्धनका निम्ति सन्तहरूको अगुवाइमा कृष्णागण्डकी पदयात्रा आयोजना गर्ने,
उक्त घोषणापत्रलाई विभिन्न संघ संस्थाका प्रतिनिधि, सन्त, महन्त एवम् अन्य महानुभावहरूले अनुमोदन गरेका छन् ।
कार्क्रममा विचारपत्र प्रस्तुत गर्ने पाँच जनालाई ईश्वरी जनकदेव शोध पुरस्कार-२०८१ द्वारा सम्मानित पनि गरिएको थियो ।
कार्यक्रमको सभाध्यक्षता रामानन्द अनुसन्धान केन्द्रका अध्यक्ष श्री१००८ स्वामी रमणानन्द गिरिले गरेका थिए भने प्रमुख अतिथिका रुपमा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती रहेका थिए ।
देवघाट गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष तथा कार्यकारी निर्देशक, देवघाट वडा नम्बर- ५ का अध्यक्ष, धौलागिरी समाज नेपालका अध्यक्ष, कालीगण्डकी बचाऊ अभियानका अध्यक्ष एवम् सरोकारवालहरू, मठ मन्दिर आश्रम प्रतिनिधि एवम् अन्य महानुभावहहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम ११ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको थियो र कार्यक्रम सञ्चालन विमर्श सभाका संयोजक फणीन्द्रप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा २०० भन्दा बढिको उपस्थिति रहेको आयोजकले जनाएको छ ।