मकवानपुर, ७ फागुन ।
बागमती गोल्डकप अन्तरगत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । बुधबारकाे तेस्राे क्वार्टरफाइनल खेलमा जित निकाल्दै एपीएफ सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बागमती गाउँपालिका–४ स्थित शहीद स्मृति रंगशालामा भएको खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफकाे जीतमा सुजन कुमार पुलामीले ८३ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
म्यान अफ द म्याच एपीएफका मणि कुमार लामाले घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो ।
फागुन ८ गते बिहीबार प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगता अन्तरगत मंगलबार भएको दोस्राे क्वाटर फाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौँ सेमिफाइनल प्रवेश गरेकाे छ । उसले हिमालयन शेर्पालाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे हाे । यस्तै सोमबार भएकाे पहिलाे क्वाटरफाइनलबाट त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइजले समेफाइनल यात्रा तय गरेकाे हाे ।
फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।