मकवानपुर, ६ फागुन ।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले अहिलेकाे सरकार सुशासन कायम गर्न, मुलुकमा दिगाे शान्ति, सुशासन, आर्थिक गतिविधि बढाइ राष्ट्रिय पुँजीकाे निर्माण गर्ने पथकाे लागि समिकरण भएकाे बताएका छन् । मंगलबार हेटाैंडामा दोस्राे राष्ट्रिय निर्माण तथा व्यापार महाेत्सवकाे उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
गृहमन्त्री लेखकले मुलुककाे विकासका लागि निर्माण व्यवसायीहरु महत्त्वपूर्ण अंग भएकाे बताए । मुलुकका सानादेखि ठुला आयाेजनाहरु निर्माण गर्ने निर्माण व्यवसायीहरु रहेकाे बताउँदै उनले भने ‘महाेत्सव गर्दा अन्तर्क्रिया र निर्माण आइडिया आदानप्रदान हुन गई निर्माण कार्यमा सघाउ पुग्छ ।’ उनले सबैभन्दा बढि राेजगारी दिने नीजि क्षेत्र निर्माण व्यवसायी भएकाे बताए ।
‘सरकारले निर्माण व्यवसायीकाे भुक्तानी दिन नसकेकाे देभरबाट गुनासाे आइरहेकाे छ’ मन्त्री लेखकले भने ‘राेकिएका बक्याैता भुक्तानी दिन सुरु भएकाे छ । बाँकी रहेकाे बक्याैता पनि सरकारले भुक्तानी गर्ने प्रतिवद्दता व्यक्त गर्दछु ।’ अहिलेकाे सरकार सुशासन कायम मुलुकमा दिगाे शान्ति, सुशासन, आर्थिक गतिविधि बढाइ राष्ट्रिय पुँजीकाे निर्माण गर्ने पथमा सरकारकाे समिकरण भएकाे उनले जानकारी दिए ।
‘सरकारले ल्याएकाे अध्यादेश स्वीकृत भएपछि हामी अघि बढ्छाैँ’ उनले भने, तपाईहरु ढुक्क भएर निर्माण कार्य अघि बढाउनुहाेस् ।’ ‘निर्माण व्यवसायीले असुरक्षाकाे महशुस गरे सुरक्षा निकायमा कुरा राख्नुहाेस् म समाधान गर्ने प्रतिवद्दता व्यक्त गर्दछु’ उनले भने । निर्माण कार्य गर्दा गुणस्तरीयतामा ध्यान दिनु पर्ने बताउँदै उनले भने ‘समयावधी भित्रै निर्माण सम्पन्न गर्ने कुरामा विशेष गरि निर्माण व्यवसायिले ध्यान दिन जरुरी छ ।’
सरकारले विकास निर्माणकाे काममा ठुलाे लगानी गरेकाे हुन्छ । निर्माण व्यवसायीले समयमा गुणस्तरीय कार्य नगर्दा सरकारकाे लगानी खेर जाने उनले बताए । ‘एउटा निर्माण व्यवसायीले गरेकाे गलत कार्यले सबैलाई आरोप लाग्ने गर्छ’ उनले भने ‘व्यवसायीहरुले आफ्नाे कार्य सुधार गरेर अघि बढ्न जरुरी छ ।’
उद्घाटन कार्यक्रमलाई स्वागत गर्दै निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगाेपाल कंडेलले निर्माण व्यावसायीहरुकाे राेकिरहेकाे भुक्तानी निकासाकाे लागि गृह मन्त्री लेखककाे ध्यानाकर्षण गराएका थिए ।
मकवानपुर जिल्लाको निर्माण तथा औद्योगिक क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल निर्माण व्यवसायी महासंघ र संघकाे संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएकाे हो । महोत्सवमा विभिन्न निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी, तथा उपभोक्ताका लागि ३५० भन्दा बढी स्टल राखिने छन् ।
महोत्सवमा निर्माण उपकरण तथा औद्योगिक उत्पादनका प्रदर्शनीसँगै व्यवसाय प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ। व्यवसायी, बिक्रेता, तथा उपभोक्ताबीच समन्वय कायम गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
महोत्सवको अर्को मुख्य आकर्षण ‘हेटौंडा आइडल’ प्रतियोगिता हुने छ जसमा मकवानपुरका नवप्रतिभाहरूले आफ्नो गायन क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन् । आइडल प्रतियोगिताकाे लागि १५ जना प्रतिष्पर्धी छनौट भएका छन् । उनीहरुले महाेत्सवकाे अवधीमा स्टेज प्रस्तुति दिनेछन् । दर्शक समेतकाे भाेटिङमा आइडलकाे घाेषणा गरिने आयोजकले जनाएकाे छ ।
हेटौंडा–१० टिसिएन चौरमा आयोजना हुने महोत्सव फागुन १८ गतेसम्म चल्नेछ । जसमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। आयोजकका अनुसार महोत्सवमा आउने आगन्तुकका लागि बाल उद्यान, विभिन्न परिकारका खानाका स्टलहरू तथा अन्य मनोरञ्जनात्मक गतिविधि हुनेछन् । करिव ३ कराेडकाे काराेवार हुने अनुमान गरिएकाे महाेत्सवकाे लागि १ लाख ५० हजार जनाले अवलाेकन गर्ने आयोजकले अनुमान गरेकाे छ ।