भरतपुर, ६ फागुन ।
श्री आधारभूत विद्यालय (१-५) कञ्चनवस्ती भरतपुर- २१ पार्वतीपुर, चितवनका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग, स्टेसनरी तथा खेलकुदका सामग्री उपलब्ध गराइएको छ । हेल्प नेपाल नेटवर्कको सहयोग र इन्द्र भगवती अक्षयकोषको आयोजनामा यी सामग्री उपलब्ध गराइएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डे, अध्यक्ष बाबुराम तिमिल्सिना, वडाध्यक्ष कृष्णकुमार गुरुङ, हेल्प नेपालका अन्तर्राष्ट्रिय संयोजक डिला खरेल, अक्षयकोषका संस्थापक भुपेन्द्र बस्नेत, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री लगायतको उपस्थिति थियो ।
सामग्री वितरण कार्यक्रममा बोल्दै हेल्प नेपालका अन्तर्राष्ट्रिय संयोजक खरेलले विद्यार्थी भाइबहिनीहरुका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर- ५ आनन्दपुर घर भएका खरेल विगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आउनुभएको छ । एनआरएनएलगायतका संघसंस्थामा लामोसमय काम गरेको अनुभव उहाँसँग छ । उहाँ केही न केही गर्नैपर्छ भन्ने हुटहुटी भएका युवा हुनुहुन्छ । अष्ट्रेलियामा पनि सामाजिक कार्यमा उत्तिकै सक्रिय उहाँ नेपालीहरुमा आइपर्ने हरेक समस्या समाधान गर्न अग्रणी स्थानमा हुनुहुन्छ ।
अष्ट्रेलियामा अत्यधिक लोकप्रिय युवा व्यक्तित्व उहाँका परोपकारी, सामाजिक तथा उद्यमशीलताका अनवरत र सार्थक प्रयास तथा अभ्यासहरुको अष्ट्रेलिया र नेपाल दुवै देशमा उत्तिकै चर्चा हुने गर्दछ । उहाँ अस्ट्रेलियास्थित इन्नोभेटिभ एसोसिएट्सका प्रिन्सिपल हुनुहुन्छ ।
२५ वर्ष अघि स्थापना भएको हेल्प नेपालको हाल ३० वटा देशमा शाखा छन् ।
आधारभूत विद्यालय कञ्चनवस्ती २०३५ सालमा स्थापना भएको विद्यालय हो । यस विद्यालयमा विपिन्न परिवारका १०० जति विद्यार्थी पठनपाठन गर्दछन् । विद्यार्थीको सहजताका लागि भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको वडाध्यक्ष गुरुङले बताउनु भयो । हरेक शुक्रबार विद्यार्थीहरूलाई व्यावहारिक तथा सिर्जनात्मक सिकाइका गतिविधि गराइँदै आइएको उहाँले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएका एलबी क्षेत्रीले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षक तथा अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।