मकवानपुर, ६ फागुन ।
मातृभूमि साहित्य समाज मकवानपुरद्वारा विभिन्न स्रष्टा तथा व्यक्तित्व सम्मानित हुने भएका छन् । सोमबार हेटौंडामा बसेको समाजको कार्यसमिति बैठकले ७ वटा बिधामा ९ जनालाई एकै मञ्चमा सम्मानित गर्ने निर्णय गरेकाे सचिव किशन पौडेलले जानकारी दिए ।
समाजले नित्यानगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार,२०८० द्वारा गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित हुने भएका छन् । २० हजार रुपैयाँ राशिको उक्त पुरस्कार समाजसेवी मुक्ति गोविन्द वैद्यले आफ्ना स्वर्गीय पिता सङ्गीतकार नित्य गोविन्द वैद्यको नाममा स्थापना गरेका हुन् । यस्तै श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार,२०८० अनुवादक/ साहित्यकार डा.विष्णु भण्डारी (आसाम, भारत) लाई प्रदान गरिने भएको छ । समाजसेवी/शिक्षासेवी आशिष श्रेष्ठले आफ्ना स्वर्गीय पिता श्याम श्रेष्ठको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशि पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार,२०८० असल पाख्रिन, बेबी खातुन, परीक्षा खतिवडालाई प्रदान गरिने भएको छ ।
समाजसेवी अर्चना शर्मा रिजालले आफ्ना पति शेखर शर्मा रिजालको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशि जनही १५/१५ हजार रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष मकवानपुर जिल्लामा सामुदायिक विद्यालयतर्फ प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रालाई प्रदान गरिन्छ ।
यस्तै साहित्यकार नरेन्द्र राज पौडेल (काठमाडौं) लाई ईश्वरी स्मृति मातृभूमि सम्मान, २०८० प्रदान गरिने भएकाे छ । उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ भने मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालले आफ्ना पिताको स्मृतिमा स्थापना गरेकाे हुन् । यो सम्मान विविध क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई २०७० सालदेखि प्रदान गर्न थालिएको छ । १० हजार रुपैयाँ राशिकाे हातेमालो-मातृभूमि युवा सृजनशील सम्मान, २०८० मकवानपुरे साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएकाे छ । समाजले २०६५ सालमा आफ्नै नाममा स्थापना गरेको यो सम्मान २०७२ सालदेखि मकवानपुरकै ‘हातेमालो बचत तथा ऋण सहकारी संस्था’ ले प्रायोजन गर्दै आएको छ ।
यसैगरी मकवानपुरका गृष्मा गहत राना मङ्गलादेवी स्मृति मातृभूमि बाल पुरस्कार, २०८० बाट सम्मानित हुने भएकी छिन् । शिक्षासेवी देव प्रसाद श्रेष्ठले आमा मङ्गलादेवी श्रेष्ठको स्मृतिमा २०७७ सालमा स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि ७ हजार ५०० रहेकाे छ । प्रतिभाशाली बालबालिकाहरूलाई यो पुरस्कार प्रदान गरिदै आइएकाे सचिव पौडेलले जानकारी दिए । शारदा उप्रेती स्मृति मातृभूमि सम्मान, २०८० कलाकार ज्ञान रत्न लामालाई प्रदान गरिने भएकाे छ । अधिवक्त चूडाराज उप्रेतीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैयाँ रहेकाे छ । पौडेलका अनुसार यो पुरस्कार २०८० सालमा स्थापना गरिएकाे तथा पहिलाे पटक प्रदान गर्न लागिएकाे हाे ।
समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएकाे बैठकले पुरस्कार छनौट समितिको सिफारिस बमोजिमकाे उल्लेखित पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे । २४ फागुन २०८१ मा हेटौंडाको रोयल पार्टी प्यालेसमा संस्थाको वार्षिक साधारण सभाकाे अवसरमा सम्मान समर्पण कार्यक्रम गर्दै शीर्षकगत पुरस्कार प्रदान गरिने बताइएकाे छ ।