चितवन, ६ फागुन ।
माडी नगरपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन नारायणगढ लायन्स क्लब लायन जितबहादुर पिया व्यावसायिक तालिम केन्द्रले तीनमहिने नि:शुल्क सिलाइ तथा कटाइ प्रशिक्षण निरन्तररूपमा दिँदै आएको छ ।
माडी नगरपालिका, वडा नम्बर ४ सिधुवामा सोमबार दसौँ समूहको प्रशिक्षण सुरू र सोही वडाको शीतलपुरमा तीन महिनासम्म चलेको नवौँ समूहको प्रशिक्षण समापन भएको छ ।
छुट्टाछुट्टै सम्पन्न उद्घाटन र समापन कार्यक्रमको प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका गभर्नर दीनानाथ न्यौपाने थिए । उनले मन लगाएर सीप सिक्न र सिकेको सीपलाई प्रयोग गर्न दुबै समूहका सहभागी महिलालाई आग्रह गरे ।
विशिष्ट अतिथि द्वितीय भाइस गभर्नर प्रभाकर पण्डितले जहाँ आवश्यकता छ त्यहाँ लायन्स पुग्ने गरेको बताए । लायन जितबहादुर पिया व्यावसायिक तालिम केन्द्रका संरक्षक शान्तकुमार पियाले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको बताए ।
प्रशिक्षणको नवौँ समूहका सहभागी ३५ जना महिलालाई समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरूले आयोजक क्लब, मुख्य प्रशिक्षक भरत परियार र सहायक प्रशिक्षक सबिता महतोलाई मायाको चिनो दिएका थिए ।
प्रशिक्षणको स्थानीय संयोजक श्रीकृष्ण महतोले दसौँ समूहमा ४४ जना महिला सहभागी रहेको जानकारी दिए ।
लायन्स क्लब अफ नारायणगढका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उदघाटन र समापन कार्यक्रम सोही क्लबका पूर्वअध्यक्ष प्रसन्नकुमार जोशीले सञ्चालन गरेका थिए भने अर्का पूर्वअध्यक्ष प्रशान्तकुमार पियालगायतको उपस्थिति रहेको थियो ।
यसैबिच, सोमबार नै माडी नगरपालिका-१, राष्ट्रिय आधारभूत विद्यालय पाण्डवनगरमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ नारायणगढले कलधारा तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर नेपाली र अध्यक्ष धनबहादुर गुरूङले विद्यालयमा शुध्द खानेपानी उपलब्ध भएपछि विद्यार्थी, शिक्षक र कर्मचारीलाई राहत मिलेको बताए । विद्यालयमा १०६ जना विद्यार्थी अध्ययनरत छन् ।