भरतपुर, ५ फागुन ।
भारतको ओडिसा प्रदेशको भुबनेश्वरस्थित कलिंगा ईन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि उत्पन्न विवादबारे समस्या समाधानको प्रयास भइरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीले भने, ‘हामी विश्वविद्यालयको सम्पर्कमा छौँ । समस्या समाधान हुँदै छ । नेपाली विद्यार्थी आत्तिनुपर्ने अवस्था छैन । केही क्षणपछि विश्वविद्यालय र दूतावासले विज्ञप्ति जारी गर्दै छन् ।’
कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निष्कासन गरेको थियो ।
यही विषयमा आफूले पनि बुझिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’
भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका अद्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीवास्तवकै मानसिक तनाव र दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गर्नुपरेको आशंका गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, प्रकृति लम्सालले आत्महत्या गर्नु अघि मानसिक र शारीरिक यातना सहनुपरेको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो क्लिपमा श्रीवास्तवले निरन्तर गालीगलौज गर्दै उनलाई अपमानजनक शब्द प्रयोग गरेर मानसिक रूपमा दबाब दिएको सुन्न सकिन्छ ।
श्रीवास्तव पक्राउ पर्नुअघि भाग्न खोजेको पनि खुलेको छ । उनले सामाजिक सञ्जालमा कोलकाताका लागि हवाई टिकट बुक गरेको तस्वीर सार्वजनिक गरेका थिए । प्रहरीले उनलाई ट्रयाक गरी नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाल विद्यार्थी संघले भारतको उडिसास्थित निजी विश्वविद्यालय केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
नेविसंघले सोमबार विज्ञप्ति जारी गर्दै उक्त विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै विश्वविद्यालयका जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न माग गरेको छ ।
केआइआइटीलगायत भारतका विभिन्न स्थानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको ग्यारेन्टी गर्न नेविसंघले माग गरेको छ ।