धादिङ, ४ फागुन ।
संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशको आयोजनामा धादिङबेसी धादिङमा फागुन १६ र १७ गते बागमती साहित्य महोत्सव -२०८१ हुनेभएको छ ।
महोत्सव बारे जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी एवं मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, नीलकण्ठ नगरप्रमुख भीम ढुंगाना, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री दाहाललगायतको उपस्थिति थियो । पत्रकार सम्मेलनमार्फत महोत्सवको लोगो र महोत्सव विशेष जिङ्गल सार्वजनिक गरिएको छ ।
महोत्सवका प्रस्तुत हुने विभिन्न सेसन र रूपरेखाका बारेमा महोत्सव मूल समितिका संयोजक विष्णुप्रसाद आचार्यले जानकारी गराउनुभएको थियो । महोत्सवको लोगो डिजाइन गजलकार तथा ग्राफिक डिजाइनर विनोद बिम्बितले गर्नुभएको हो । साहित्यका धरोहर नवीनबन्धु पहाडीको शब्द रहेको जिङ्गलमा संगीत, संगीत संयोजन र गायन लालकाजी श्रेष्ठको रहेको छ ।
दुई दिन चल्ने बागमती साहित्य महोत्सवमा गजल प्रशिक्षण र गजल सन्ध्या गरी दुईवटा सेसनको जिम्मेवारी नेपाल गजल प्रतिष्ठानलाई दिइएको छ ।