भरतपुर, ४ फागुन ।
बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीले विद्यार्थीलाई प्राविधिक शिक्षा सँगै नैतिक शिक्षा र व्यावहारिक शिक्षा पनि सँगसँगै दिनुपर्ने बताउनु भएको छ । अर्किड स्कुल भरतपुरको चौधौँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै पूर्वमन्त्री जोशीले आफ्ना बाबुनानीलाई अरुसँग तुलना नगरी उनीहरूमा जे क्षमता छ त्यसमा गर्व गर्न अभिभावकहरूलाई आग्रह गर्नुभयो ।
विदेश पलायनको बढ्दो लहरलाई रोक्न विद्यार्थीलाई दिइने ज्ञान र शिक्षामा समयानुकूल परिवर्तन आवश्यक रहेको पनि उहाँले बताउनु भयो । `नेपालमा केही पनि छैन, नेपालमा बसेर केही काम छैन भन्ने गलत भास्य बनेको छ´ प्रमुख अतिथि जोशीले भन्नुभयो – `नेपालमा प्रशस्तै संभावनाहरू छन् । युवाशक्तिलाई देशमै राख्न र उनीहरूको क्षमतालाई यहीँ प्रयोग गराउन समयानुसारको शिक्षा दिएर हामी सबैजना सकारात्मक भएर लाग्नुपर्छ ।´
प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले शिक्षकहरुलाई पनि पलायनवादी सोच नराखी विद्यार्थीलाई पढाउन आग्रह गर्नुभयो । अध्यक्ष पुरीले विद्यार्थीको पढाइको स्तर मार्कसिट र पाठ्यक्रममा मात्रै नभएको सिमित नरहेको बताउनु भयो ।
`मार्कसिट र स्कुलका किताबको रटान मात्रै सबैथोक होइन । विद्यार्थीका अतिरिक्त क्षमताहरुले उनीहरूको प्रतिभा र क्षमता वृद्धि गरेको हुन्छ ।´ कार्यक्रममा विद्यार्थीले तेक्वान्दोको उत्कृष्ट प्रस्तुति दिएकोमा आफूलाई खुसी लागेको बताउँदै अध्यक्ष पुरीले विद्यार्थीले अरुसँग नभएर आफैंसँग प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । आफैंसँग प्रतिस्पर्धा गर्दा आफैँलाई सुधार्न सकिने अध्यक्ष पुरीले बताउनु भयो ।
मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष तथा होली भिजन स्कुल भरतपुरका प्राचार्य मीनराज बस्ताकोटीले शुभकामना मन्तव्य राख्दै एकता र सहकार्यले सफलता हासिल गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा अर्किड स्कुलबाट २०८० सालको एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेका किञ्जल खरेल र प्रज्ज्वल अर्याललाई जनही एक लाख रुपैयाँले सम्मान गरिएको थियो । त्यसैगरी अर्किड स्कुलमा अध्ययनरत विद्यार्थीका ज्येष्ठ अभिभावक ९१ वर्षीया मुमामाया न्यौपाने र ८७ वर्षीय चक्रपाणि सुवेदीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयको चौधौँ वार्षिकोत्सवका अवसरमा प्रकाशित `सुनगाभा´ मुखपत्रको अङ्क ८ पनि विमोचन गरिएको छ । पुस्तकमा विद्यार्थीका सिर्जना सँगसँगै अभिभावक र अन्य लेखकका पठनीय सामग्री छन् ।
सोही कार्यक्रममा विद्यार्थीहरूले विद्यालय हातामा विज्ञान प्रदर्शनी गरेका छन् भने आफैँले बनाएर विभिन्न खानाका परिकार पनि बिक्रीमा राखेका छन् । कार्यक्रममा आउनुभएका अतिथि तथा अभिभावकले प्रदर्शनी अवलोकन गर्नुभएको छ ।
विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्राचार्य खेम आचार्यले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।