मकवानपुर, ४ फागुन ।
साहित्यकार श्रीराम पाण्डेको कथा सङ्ग्रह ‘दुर्घटित जन्म’को हेटौँडामा विमोचन गरिएको छ । शनिबार हेटौँडाको भैरबरोडमा रहेको किताबघरमा आयोजित एक कार्यक्रमका बीच कृति विमोचन तथा विमर्श गरिएको हो ।
पाँच दशकदेखि साहित्य रचनामा लागिरहेका पाण्डेको पुस्तकाकार रुपमा चौथो तथा आख्यानका रुपमा पहिलो कृतिको रुपमा ‘दुर्घटित जन्म’ प्रकाशित भएको हो । विमोचित कृतिमाथि बोल्दै साहित्यकार शान्ति प्रियवन्दनाले कृतिभित्रका कथाहरू रचनाकालका दृष्टिले पुराना भए पनि पछिल्लो समयका पाठकलाई कथाले आकर्षित गर्ने क्षमता राख्ने दाबी गरिन् । सङ्ग्रहभित्रका ३६ वटा कथाहरूमध्ये कतिपयमा विषयवस्तुको पुनरावृत्ति भए पनि त्यसले पाठकमा सकारात्मक प्रभाव छाड्ने प्रियवन्दनाले बताइन् ।
यस्तै कवि साम्ब ढकालले कविता, निबन्ध तथा आख्यानमा उत्तिकै सशक्त ढङ्गले कलम चलाउने पाण्डेका कृति प्रकाशनको हिसाबले भने पछि परेकोमा दुःख व्यक्त गरे । पछिल्लो समय कृतिका रुपमा पाण्डेका रचनाहरू बाहिर आउनुलाई नेपाली साहित्यमा ‘असल धातुको उत्खनन्’ भएको आफूले महसुस गरेको ढकालको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कवि तथा समीक्षक निमेष निखिलले तीसको दशकदेखि नै कथा लेखनमा सक्रिय पाण्डेको कथा लेखनको शैली उत्कृष्ट रहेको बताए । साहित्यकार रमेशमोहन अधिकारीले पनि नेपाली साहित्यका स्थापित कथाकारहरू जत्तिकै सशक्त लेखन भैकन पनि पछि परिरहेको अवस्थामा पाण्डेका अन्य कृतिहरू पनि प्रकाशित हुँदै जाने विश्वास व्यक्त गरे ।