मकवानपुर, ३ फागुन ।
गजल मञ्च मकवानपुरले दुर्गा लामिछाने ‘नमुना’लाई श्रीकृष्ण तालुमाया – नमुना स्मृति गजल सम्मानद्वारा सम्मानित गरेको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच गजल मञ्चकी संस्थापक उपाध्यक्ष लामिछानेलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
गजल क्षेत्रको संस्थागत विकास गर्दै उन्नयन र प्रबर्द्धनमा भूमिका खेलेको भन्दै शिक्षासेवी एवम् साहित्यसेवी भोला शिवाकोटीले स्थापना गरेको सम्मान लामिछानेलाई प्रदान गरिएको हो । मञ्चका अध्यक्ष केशव समर्पण, प्रमुख अतिथि साहित्यकार तुलसी घिमिरे, विशिष्ट अतिथि सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, पुरस्कार संस्थापक शिवाकोटीलगायतले लामिछानेलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । मञ्चले गतवर्षदेखि सम्मान प्रदान गर्न सुरु गरेको हो । गत वर्ष गजलकार अनिश न्यौपाने ‘भावना’लाई गजल सम्मान प्रदान गरिएको थियो ।
यस्तै २२१ औँ नियमित गजल यात्राका साथमा शनिबार नै आयोजित माध्यमिक तहस्तरीय गजल प्रतियोगितामा हेटौंडा–१४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत निकेश रुम्बा सर्वोत्कृष्ट घोषित भएका छन् ।
सर्वोत्कृष्ट हुने रुम्बालाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँ नगद राशिको मनमाया स्मृति गजल पुरस्कारबाट पुरस्कृत गरिएको छ । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापित पुरस्कार हरेक वर्ष प्रदान गर्ने गरिएको छ । २०७० सालदेखि हरेक वर्ष माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट घोषित हुनेलाई पुरस्कार प्रदान गर्ने गरिएको छ ।
प्रतियोगितामा मकवानपुरका विभिन्न विद्यालयका १४ जना विद्यार्थी गजलकारले भाग लिएका थिए । १४ मध्येबाट उत्कृष्ट ७ गजल छनौट गरी वाचनको लागि निम्त्याइएको थियो । गजलकार सानु खनाल र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
मञ्चका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज कवि, गीतकार, गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । २२१ औँ नियमित गजल यात्राको क्रममा गजलकार देवराज तिवारी, विश्वनाथ सञ्जेल, धर्मराज स्याङ्तान, भवानी तिमल्सिना, सञ्जीत श्रेष्ठले अप्रतियोगी गजल वाचन गरेका थिए । कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष दीपक गौतम, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्रमुख अतिथि तुलसी घिमिरेलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।