भेटिनु संयोग हो,
भेटिएका थियौँ हामी ,
हृदयको गुञ्जन लिएर
प्रेमको स्पन्दन लिएर
अलिकति आशा
अलिधेरै भरोसा
केही रङ्ग
समेट्नुपर्ने उमङ्ग बोकेर
चालिएका थिए
दुई जोडी पैतालाहरू ।
कल्पना नै सही
उडान भर्नुको मजा पो मजा
खुम्च्याएर भावना के मजा ?
मदहोशको प्यालामा मात्तिएर
बादलसँगै बात्तिएर
एक झरी दर्किनु छ बर्षात् बनेर ।
ओ प्रियतमा
उज्यालो समेटिएको सूर्यझैँ
हावा समेटिएको सगरझैँ
पानी समेटिएको सागरझँ
म समेटिएको छु तिम्रा आलापहरूमा
आमाको काखमा निदाए जस्तै
म बिउँझेको छु तिम्रो साथमा ।
तिमीमा हराएपछि
भेटाएको हुँ मैले आफूलाई
एउटा प्रश्न सोध्छु तिमीलाई
के म जस्तै तिमी पनि
मलाई भेट्टाएपछि
खुसि भएका छौ ?