विवाहको पहिलो बिहान
तिमी नुहाउन पधेँरोमा
गम्छा र जोर कपडा भिरेर
म नौलो वनमा आएकी चरी
ज्ञात थिएन उडानको परिधि
म आज्ञाकारी बालक झैँ
तिम्रा पछि पछि
डोकामा गाग्री बोकेर
पुगेको सम्झन्छु त्यो पधेँरोमा ।
सालको लोप्रामा कुत्कुतिएको धारो
तिमी र म स्निग्ध भिजेको क्षण
मेरो नव्य प्रणय यात्राको
श्रीगणेश
म सधैँ सम्झन्छु ।
घामको पहिलो झुल्कोले सुनैसरी
तिम्रा बलिष्ठ पाँसुला र पुष्ट गर्धन
टल्किएको
त्यो पधेँरो त्यो गाग्री र डोको
अनि तिमीले जीवनको अनन्त आकाशमा
उड्न दिएको तालिम
मेरो स्मृतिमा
संसारका सर्वोच्च प्रणय प्रतीक हुन् प्रिय !