निधारमा गाँसेर पाली
हेरिरहन्थेँ तिम्रो सहर
जतिबेला
हावा पनि पस्न डर मान्थ्यो
तिम्रो सहरमा
म हजारौँ
पुल्को फ्याँकेर तिमीतिर
लेखिरहन्थेँ तिम्रो निधारमा
मिठो मायालु चुम्बन ।
हाँस्दा कतै
चाउरिन्छन् कि भनेर स्याउ गाला
फुस्कन्छ कि भनी खुसीको गाँठो
हजुरआमाको सुर्केथैलीझैँ
सधैँसधैँ बाँध्न चाहन्थेँ तिम्रो खुसी
तिम्रो तिर्छे हेराइलाई
च्यापेर खोकिलामा
लेखिरहन्थेँ तिम्रा अधरमा
एकचिम्टी खुसीको गीत
जून थिएँ म त्यतिबेला
तिमीलाई पुष्पकमा चढाई
पुर्याएर चन्द्रलोक
हरबिहानीको शीतले
गोरेटाहरूमा लेख्थेँ तिम्रो नाम
र पुछारमा झुन्डिन्थ्यो मेरो नाम
म के के थिएँ
म के के थिइनँ बैँसमा
आकाशको पछ्यौरीभन्दा
तिम्रो मायाको पछ्यौरी
ठुलो लाग्थ्यो त्यतिबेला
बाबाआमाका अनुभवी विचारभन्दा
तिम्रो काँचो विचारमा
जीवन खोज्थेँ त्यतिबेला
घाम नउदाइ
अँधेरोमै अँधेरोमै
सारा उमेर बिताऊँ बिताऊँ जस्तो लाग्थ्यो
च्यातेर सारा पुस्तकहरू
तिम्रै तिम्रै नाममा
नयाँ नयाँ पुस्तकहरू
लेखूँ लेखूँजस्तो लाग्थ्यो
बैँसको बेला ।