हेम रोकाहा/कायाकैरन
भरतपुर,६ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गा विवाद सुल्झिएको बताएका छन् । कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय (त्रिवि) बीचको जग्गा विवाद मुलभूतरुपमा समाधान भएको उनले बताए ।
मन्त्रिपरिषद्बाट यसको समाधानको लागि बनेको समितिको रिपोर्टलाई आधार बनाएर गरिएको निर्णयानुसार विवाद समाधान भएको उनले दावी गरे । विवाद समाधानलाई अन्तिम रुप दिनको लागि त्रिविका पदाधिकारीहरुसँग अनुमोदनको काम मात्रै बाँकी रहेको तर त्यसमा समस्या भने नभएको उनले बताए ।
कृषि तथा वन विज्ञान र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानबीच लामो समय जग्गा र भौतिक संरचना कसको स्वामित्वको रहने भन्ने विवाद रहेको थियो । दाहालले प्रधानमन्त्री भएको भोलिपल्टैबाट विश्वविद्यालय र त्रिवि विचको विवाद समाधान गर्न निरन्तर लागिपरेको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अवधारण आफू पहिलोपटक प्रधानमन्त्री बन्दाताका नै बनाएको भन्दै प्रधानमन्त्री दाहालले विभिन्न अवरोधहरुका कारण त्यस अवधारणले गति लिन नसकेको बताए । हाल विश्वविद्यालय निकै अप्ठ्यारो परिस्थितिको बीचबाट बनेको उनले बताए । अहिले दोस्रो पटक प्रधानमन्त्री भएको समयमा आफूले यसको जिम्मेवारी बहन गर्दै विश्वविद्यालयलाई विवादमुक्त बनाउने प्रयासमा लागेको उनले बताए ।
विश्वविद्यालयले सैद्धान्तिक अध्ययन, अनुसन्धान, त्यसको प्रसारण राष्ट्र र किसानहरुको सम्मृद्धिको निम्ति गर्नेपर्ने उनले बताए । नेपाल कृषि प्रधान देश भएकाले यो विश्वविद्यालय पहिले नै स्थापना गरिसक्नुपर्ने उनको भनाइ छ । “यो विश्वविद्यालय अरु विश्वविद्यालयभन्दा पहिले नै बनिसक्नुपथ्र्यो” प्रधानमन्त्री दाहालले भने, “किनकि नेपाल कृषिप्रधान देश हो र हाम्रो देशको भूगोलपनि कृषिको लागि अनुकूल छ । र हाम्रो आर्थिक वृद्धि, उद्योग तथा रोजगारीको अवसरहरुको विकासको आधार कृषि नै हो ।” नेपालमा शिक्षित वर्गको विकास हुँदै गर्दा देशले परनिर्भरता भोग्नु बिडम्बना रहेको उनले बताए । नेपाल विस्तारै कृषिमा परनिर्भरताबाट आत्मनिर्भरता तर्फ उन्मुख हुँदै गइरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री गौरी शंकर चौधरीले नेपालमा पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्थापना भएको बताए । विश्वविद्यालयमा हुने अनुसन्धानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरणमार्फत जनतासामु प¥याउन लागिएको उनले बताए । दिगो कृषि विकासमार्फत देशलाई आर्थिक रुपमा सम्मृद्ध बनाउन सकिने भन्दै उनले कृषिको आधुनिक विकासमा विश्वविद्यालयले महत्वपूर्ण योगदान गर्नेछ भन्ने अपेक्षा लिएको बताए ।
सांसद् शेषनाथ अधिकारीले कृषि क्षेत्रमा सैद्धान्तिकसँगै प्राविधिक ज्ञानको अपरिहार्यतालाई बुझेर कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्थापना भएको बताए । उनले भने, “विश्वविद्यालयमार्फत विद्यार्थीहरु त लाभान्वित हुन्छन् नै, यसबाट नेपालको कृषि विकासमा समेत टेवा पुग्नेछ ।” नेपालमा कृषि र वनको प्रचुर सम्भावना रहेको भन्दै अधिकारीले विश्वविद्यालय यसको विकासमा सफल हुने उनले आशा लिए । सांसद् कृष्णभक्त पोखरेलले नेपालमा हालसम्म ६० प्रतिशत मानिसहरु अझै कृषि पेशामा लागेको भएपनि यहाँको कृषि निर्वाहमूखी मात्रै हुन पुगेको बताए । यस्तो अवस्थामा विश्वविद्यालयको भूमिका महत्पूर्ण हुने उनले बताए ।
विश्वविद्यालयका पूर्व उपकुलपति कैलाशनाथ प्याकुरेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्थापनामा अहोरात्र खटेको सुनाए । हाल बनेको विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन नितान्त सरकारको लगानीमा निर्माण भएको उनले बताए । “विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन निर्माणमा कुनै पनि बाह्य निकायको लगानी परेको छैन” प्याकुरेलले भने, “यो पूर्ण रुपमा सरकारको लगानीमा निर्माण भएको हो ।” नेपालमा कृषि विकासको निकै सम्भावना रहेको बताउँदै उनले यसको लागि नेपाल सरकारको सहयोगको निरन्तर खाँचो पर्ने उनी बताउँछन् ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले अझै पनि नेपालमा अन्य देशको तुलनामा कृषि क्षेत्रको अध्ययन र अनुसन्धानमा लगानी कम रहेको बताए । हालको अवस्थामा कृषिलाई उन्नतिको बाटोमा लैजानको लागि विश्वविद्यालयको निकै ठूलो आवश्यकता रहेने उनी बताउँछन् । विश्वविद्यालयमा हुने अध्ययन अनुसन्धान जनतासामु पग्न सके कृषिले फड्को मार्ने गौतमले बताए । कार्यक्रम विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।