भरतपुर, १ फागुन
विश्व रक्तदाता स्व. अर्जुनप्रसाद मैनालीको प्रथम स्मृतिमा भरतपुरमा रक्तदान कार्यक्रम गरिएको छ । मिसन रेड अभियान अन्तर्गत ब्लड डोनर्स सोसाइटी नेपालले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो।
रक्तदान कार्यक्रममा विभिन्न वर्ग, समुदाय तथा संस्थाका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीका अनुसार, मैनालीजस्तो महान रक्तदातालाई सम्झँदै रक्तदान जस्तो पुण्य कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
स्व. अर्जुनप्रसाद मैनालीले आफ्नो जीवनभर २०६ पटक रक्तदान गरी हजारौँलाई जीवनदान दिनुभएको थियो । उहाँले रक्तदान अभियानलाई समाजमा संस्थागत गर्दै धेरै युवालाई प्रेरित गर्नुभएको थियो। उहाँको महान योगदानको सम्मान गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्ने योजना रहेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने विभिन्न सन्देशहरू प्रवाह गरिएको थियो ।