मकवानपुर, १ फागुन ।
संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीभित्रको विवाद समाधान गर्न माथिल्ला संरचनाहरूसँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिनु पर्ने बताएका छन् । बिहीबार नेापाली काँग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।
‘पार्टी संगठन बलियो बनाउन आमकार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएकोले कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको छ’ मन्त्री सिंहले भने । नागरिकका लागि संविधानले निर्दिष्ट गरेको अधिकारहरू सहज उपभोगमा सरकारले काम गरिरहेको बताएका छन् ।
वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको अपेक्षा अनुसारको काम गर्नुपर्ने मूल दायित्व रहेको मन्त्री सिंहले बताए । ‘नागरिकका आवश्यकता र चाहना पूरा भए मात्र राजनीति सही ट्रयाकमा आउने भएकाले कांग्रेसले यसमा विशेष ध्यान दिनु पर्छ’ उनले भने । ‘व्यवस्था परिवर्तनपछिको उपलब्धीहरू संस्थागत गर्न सरकार दृढ रहेको छ’ उनले भने ‘व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै सकारात्मक ढंगबाट अघि बढ्नुपर्ने भएकोले सरकारको ध्यान त्यसैमा केन्द्रित भएको छ।’
मन्त्री सिंहले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए । ‘आर्थिक समृद्धिलाई नागरिकले महसुस गरे मात्र व्यवस्थाले स्थायित्व प्राप्त गर्छ’ उनले भने । वर्तमान समयमा नागरिकहरूले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको र बिदेसिने वातावरणको अन्त्य चाहेको उनले बताए । उक्त चाहनाअनुरूप सरकारले काम गरिरहेको बताउँदै मन्त्री सिंहले राजनीतिक दलको ऊर्जा कार्यकर्तामा रहेकाले आपसी समझदारी कायम गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्वसभापति रघुरमण न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवं बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलगायतको उपस्थिति रहेको थियो ।