काठमाडौं, ३० माघ ।
काठमाडौंको शंखरापुर नगरपालिका- ५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।
चाबहिलस्थित मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकमा गएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो । पिकनिकबाट फर्किने क्रममा सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल भई दुर्घटना भएको हो । ३९ वर्षीय मनिष माझीले चलाएको बस साँखु आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।