भरतपुर, २७ माघ ।
कवि चारघरे ठिटोको कवितासङ्ग्रह ‘दर्जनौँ सपनाहरू’ को विमोचन गरिएको छ । लेट्स टकको ८६ औँ शृङ्खला अन्तर्गत आइतबार भरतपुरमा आयोजित कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, लेट्स टकका संयोजक आकाश पौडेल र टिप्पणीकार उदय अधिकारीले पुस्तक विमोचन गरेका हुन् । प्रमुख अतिथि क्षेत्रीले चारघरे ठिटोका कवितामा राष्ट्रप्रेम र बेथितिमाथिको असन्तुष्टि समेटिएको बताए ।
कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै उदय अधिकारीले चारघरे ठिटोका कवितामा भाव पक्ष बलियोरूपमा प्रकट भएको बताए ।
कार्यक्रममा कवि चारघरे ठिटोले कवितासङ्ग्रहबाट पाँच वटा कवितावाचन गरे । उनका केही कवितालाई वासुदेव सापकोटा, मिठु गौतम, उपेन्द्र खड्का, कमल अर्याल र बालकृष्ण पौडेलले पनि वाचन गरेका थिए ।
लेट्स टकका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
स्याङ्जाको अर्जुनचौपारी घर भएका चारघरे ठिटो नेपाल प्रहरीमा कार्यरत छन् । स्कुले जीवनदेखि साहित्यमा कलम चलाउन थालेका ऊनका २०६२ सालमा ‘त्रिवेणी’ कथा, कवितासङ्ग्रह, २०६७ सालमा ‘अभागीका गीतहरू’ गीतसङ्ग्रह, २०७२ सालमा ‘नेपाली टाइम’ निबन्धसङ्ग्रह, २०७६ सालमा ‘अनुत्तरित प्रश्नहरू’ कवितासङ्ग्रह र २०७९ सालमा ‘जलेको प्रेम’ उपन्यास प्रकाशित छन् ।
अमेरिका निवासी दिपेन थापा प्रकाशक रहेको पुस्तकमा ३६ वटा कविता छन् । सङ्ग्रहमा मनोभाव खण्डमा २७ वटा र गीतिभाव खण्डमा ११ वटा कविता राखिएको छ । पुस्तकको वितरकमा सम्पूर्ण किताब नारायणगढ रहेको छ । मूल्य २ सय ५० रहेको छ ।