सुरुमा असान्दर्भिक कुरा
सम्पूर्ण किताब, नारायणगढ, यतिबेला चितवन र नवलपरासीको पठनको इपिसेन्टर । भरतपुर, नारायणगढ र गैँडाकोट आसपासका पाठककहरुको जम्मा हुने केन्द्र । चियासँगै पुस्तकको चर्चा गरिने थलो । यसका लागि अनेक विशेषण लगाउन सकिन्छ । यो पुस्तक पसल कम गफगाफ केन्द्र बढी हो भन्दा फरक पर्दैन । दिनमा एक पटक त्यहाँ नपुगी त खाएकै पच्दैन मलगायत कतिको ।
एक दिन चियागफमा लेखरामजी अर्थात् सम्पूर्णका सम्पूर्णले चारघरे ठिटोको कविता कृति ‘दर्जनौँ सपनाहरु’ थमाउँदै ‘नयाँ लेखकलाई पनि त प्रोत्साहन गर्नुपर्यो नि रमेश सर’ भने । किताब आकर्षक थियो । म एउटा पाठक भएका नाताले हुन्छ भनेँ । किताब लिएर गएको करिब एक महिनासम्म त्यत्तिकै थन्केर बस्यो । आज त्यसले फुत्त बाहिर निस्कने अवसर पायो । अनि जन्म्यो यो पाठकीय टिप्पणी ।
मेरो चिनजानमा चारघरे ठिटो
अँ साँच्ची लेखरामजी, तपाईं चारघरे ठिटोलाई कहिलेदेखि चिन्नुहुन्छ हँ ? म त उनलाई त्यति राम्र्रोसँग चिन्दिनँ त । खासमा आजका मितिसिम्म मलाई उनको वास्तविक नाम समेत थाहा छैन, अब के मैले उनलाई चिनेको छु भनेर गर्व गर्नु त ? वास्तविक नाम समेत थाहा नपाउनेले उनका बारेमा अरु के थाहा पाएको होला हैन त पाठकवृन्द ?
उनी नेपाल प्रहरीमा कार्यरत छन् भन्नेसम्म चाहिँ थाहा छ मलाई । उनी यतिबेला चितवनमा बेला बेलामा भेट हुने भएकाले उनी चितवनमै कार्यरत छन् भन्ने लख काट्न सक्छु म । उनको पदीय हैसियत के हो ? भन्ने बारेमा पनि उनीसँग सोधेको छैन मैले । उनको पदले के फरक पर्छ र ? मलाई भने उनको कविता राम्रो भए भइ त गो । अरु कुरा मेरो चासोको विषय होइन ।
चितवनमा चारघरे ठिटोको उपस्थिति
यतिबेला चितवनका धेरैजसो साहित्यिक कार्यक्रमहरुमा मेरो उपस्थिति हुने गरेको छ । केही साहित्यका नाममा व्यापार गर्नेका हकमा भने कुरा नगरौँ । जसले विशुद्ध रुपमा साहित्यको सेवा गर्ने गरेका छन्, अनि मलाई कार्यक्रम सुन्नका लागि आग्रह गर्छन्, तिनका कार्यक्रममा सकेसम्म उपस्थिति जनाउनुपर्छ भन्ने धारणा हुन्छ मेरो । समय र परिस्थिति मिलेन भने फरक कुरा भयो । हो, यस्तै कार्यक्रममा भेटिएका हुन्, चारघरे ठिटो ।
चितवनका प्रायः कार्यक्रममा जानेहरु बोल्नकै लागि जाने गर्छन्, तर चारघरे ठिटो तिनीहरुभन्दा पृथक् छन् । उनी धेरैजसो अन्तिम सिटमा बस्छन् र जति समय बस्छन्, ध्यानले सुन्छन् । चितवनमा यस्ता स्रोताको जरुरी छ । उनको साहित्यिक व्यक्तित्वको विकासमा पोखराको योगदान छ भन्ने सुनेको हुँ । कतै उनी ‘पुछार सिटे अभियान’का अभियन्ता त होइनन् ? यसको बारेमा पत्ता लगाउने जिम्मा लेखरामजीलाई नै दिन्छु म । बाँकी रह्यो, उनको उपस्थिति, त्यो उपस्थितिलाई सलाम गर्छु म ।
चारघरे ठिटोका दर्जनौँ सपनाहरुको सामान्य चिरफार
सुरुमा आफ्नो विचार राख्नुभन्दा पहिला आजको समयका बलशाली कवि भूपिन चारघरे ठिटोको बारेमा के भन्छन् भन्ने बारेमा कुरा गर्न चाहन्छु म । उनी कवि चारघरे ठिटोको बारेमा यस्तो अभिमत राख्छन् :
“मान्छे र मान्छेका विकृत चरित्रहरुलाई व्यङ्ग्य गरी असल मान्छे बन्न आह्वान गर्ने कवि हुन् चारघरे ठिटो । लामा स्वरुपका कविता लेख्न रुचाउने चारघरे ठिटोका कवितामा समसामयिक र समकालीन चेतनाको प्रभाव देखिन्छ । एक खुट्टाले देशको जमिन र अर्को खुट्टाले विदेशको आकाश ताक्न विवश नेपाली युवाहरुको कथाले कवि गहिरोसँग दुखेका छन् ।
पूरा हुनुपर्ने दर्जनौँ सपनाहरु लत्याएर डिभी भरिरहेको देश देखेर उनी असन्तुष्ट छन् । राजनीतिलाई पेशा बनाउने चुनाव पसलेहरु र भ्रष्टाचारलाई संस्थागत गरिरहेको नेतृत्वप्रति पनि उनी आक्रोशित छन् । कविताको अघोषित पाठशालामा बसेर कविले काव्यको सन्तुलित क्यानभास निर्माण गर्ने शानदार प्रयत्न गरेका छन् ।
दर्जनौँ विसङ्गत सपनाहरुको ऐँठनबाट मुक्त दर्जनौँ सङ्गतिपूर्ण जीवनको कामना हो, दजनौँ सपनाहरु । कवि चारघरे ठिटोका दर्जनौँ सपनाहरु विपनाको धरातलमा सम्मानपूर्वक उभियून् ।”
कवितालाई मनैदेखि आत्मसात् गरेका एउटा सशक्त कविले आत्मैैदेखि यति भनिसकेपछि कवि चारघरे ठिटोका बारेमा त्यति धेरै बोल्नु आवश्यक छ भन्ने ठान्दिनँ म । तर भूपिनको माथिको सारांश कथनलाई पुष्टि गर्नका लागि दर्जनौँ सपनाहरुबाट केही साक्ष्यहरु भने प्रस्तुत गर्छु । नत्र त यो आलेख अपूरो हुन्छ, होइन र लेखरामजी ?
कवितालाई आधार मानेर केही कोर्ने क्रमको सुरुमा कविता कृतिको नाम रहेको ‘दर्जनौँ सपनाहरु’ कविताको उठान कस्तो छ भनेर हेरौँ है त :
दजनौँ सपनाहरु लिएर
आमा ! म विदेश हिँडेको छु
नेपालमा
कुनै सम्भावना नै छैन भनेर होइन । (पृष्ठ, ४४)
माथिको साक्ष्यमा कवि देशमा सम्भवना हुँदा हुँदै आजका युवा किन विदेश जान लालायित छन् भन्ने कुराको पुष्टि गरेका छन् । यसमा उनी व्यक्तिलाई नभएर राज्यसत्ताप्रति दोष देख्छन् । त्यसमा राजनीति खराब हो भन्ने उनको धारणा छ । अझ उनी ‘राजनीति’ शीर्षकको कवितामा हाम्रा राजनेताहरुलाई यस्तो प्रश्न पो गर्छन् त :
ए ! मेरो देशका नेताज्यरुहरु,
ए ! मेरो देशका महामहिमहरु
सत्ता प्राप्तिकै लागि
यो भाँडभैलो राजनीतिको खेल
कहिलेसम्म होला ? (पृष्ठ, ९४)
माथिको साक्ष्यमा देश बिगार्ने भनेका यो देशका महान् नेताहरु नै हुन् भन्ने कविको ठहर छ । आफू सत्तामा पुग्नकै लागि देशमा भाँडभैलौ मच्चाउने त्यस्ता नेताहरुप्रति उनी खबरदारी गर्छन् । त्यति मात्र नभएर जनताका कमजोरीले नेता बिग्रेका हुन् भन्ने धारणा उनी ‘आऊ अझै ए ! देशप्रेमीहरु’ शीर्षकको कवितामा यसरी गर्छन् :
मासु र रक्सीसँग
आफ्ना ल्याप्चेहरु साट्यौँ
उनीहरुले हाम्रा भावनामा
बारम्बार
खेलवाड गरिरहे । (पृष्ठ, २५)
माथिको साक्ष्यमा राजनीतिप्रति व्यङ्ग्य गर्दै त्यसको अभीष्ट भनेको केवल चुनाव हो भन्दै चुनावका बारेमा व्यङ्ग्य गर्दै त्यसलाई मासुर रक्सीसँग तुलना गरिएको छ । देशमा भएका यस्ता खराबी हटाउन आफू प्रहरी भएर पनि केही गर्न नसकेकोप्रति ‘आहा ! मेरो देश’ शीर्षको कवितामा उनी यसरी अभिव्यक्त हुन्छन् :
एक देशप्रेमी
राज्यले
मलाई राईफल दिएको छ
तर
हान्ने अधिकार दिएको छैन । (पृष्ठ, ५३)
माथिको कवितांशमा प्रहरीले देशको रक्षामा अहोरात्र खट्ने गरेकोप्रति गौरवबोध गरिएको छ । देशमा हुने गरेका बेथितिका विरुद्ध परेका खण्डमा हतियार उठाउन पनि तयार भएको सन्दर्भ माथि आएको छ । उनी सबै प्रहरी असल छन् त ? भन्ने प्रश्न पनि गर्न पछि पर्दैनन् । उनको ‘प्रहरी’ शीर्षकको कवितामा उनी आफ्नो पेसामा लागेकाहरुलाई समाजले के कसरी हेर्छ भन्ने बारेमा यस्तो अभिमत राख्छन् :
समाजको आँखामा
ऊ अपहेलित छ
अपराधीको आँखामा
ऊ बेइज्जती छ
धेरैको आँखामा
ऊ छिःछिः र दूर दूर छ
किनकि ऊ प्रहरी हो । (पृष्ठ, १००)
माथिको कवितांशमा कविले आफ्नो पेसामा भएका खराबीप्रति व्यङ्ग्य मात्र होइन, हो कन्फेसन पनि गरेका छन् । गल्ती गर्नेहरुलाई बेलैमा गल्ती सुधार्नका लागि गरिएको आह्वान पनि छ यसमा । यसरी सबै प्रहरीहरुले सोचिदिने हो भने नेपाल प्रहरी निकालेको नारा ‘प्रहरी हाम्रा साथी’को चरितार्थ हुन बेरै लाग्दैन । तर त्यसो भएको भए पो ?
उनी सबै कवितामा व्यङ्ग्य र सुधारका कुरा मात्र गर्दैनन् । केही कवितामा प्रेमका कुरा पनि गर्छन् । उनको ‘जति जति बिर्सिंदै जाऊ’ शीर्षकको कवितामा उनी प्रेम प्रणयका कुरा पनि यसरी अभिव्यक्त भएको छ :
जति जति बिर्सिंदै जाऊ तिमी मलाई
उति धेरै म सम्झन्छु । (पृष्ठ, १३०)
माथिको कवितांशमा प्रेम छ भने त्यस अघिका कवितांशहरुमा निराशा अधिक छ । तर उनमा त्यति मात्र होइन, आशा पनि छ भन्ने कुराको पुष्टि ‘प्रिय चित्रकार १’ शीर्षकको कविताका यी पङ्क्तिहरुले गर्छन् :
म एउटान यस्तो किताब लेख्न चाहन्छु
जहाँँ,
रङ र अक्षरको संयोजन
बराबरी होस्
किताबमा,
न रङ गाढा होस् न अक्षर
यी दुईको सन्तुलन यसरी मिलोस् कि
ब्रह्माण्डमा जसरी
सबै ग्रहबिच आआफ्नै सन्तुलन छ । (पृष्ठ, ५६)
आशावादी हुनु हरेक कविको लक्षण हो । हो, यो र यस्तै शुभभाव राख्ने कविको कविहृदयलाई सलाम । पहिलो कृति भएर पनि यिनमा कविता मज्जाले आएको छ । विविध भावहरुको इन्द्रेणी बनेर आएको दजनौँ सपनाहरु वास्तवमै आजका कविका मनमा हुने सपनाको प्रतिबिम्ब हो । यसरी निराशाबाट आशातर्फको यात्रा गर्ने कविको प्रयास स्तुत्य छ । त्यसका लागि हार्दिक बधाई ।
समापनका केही शब्द
कविजी, कविताको यात्रा भनेको एकल यात्रा हो । यसमा समूहको कुनै भूमिका हुँदैन । समूहमा बसेर पनि कविले सोच्ने भनेको अरुभन्दा पृथक् कुरा नै हो । अझ त्यसमा शैलीको निर्माणले महत्वपूर्ण स्थान ओगट्छ । यहाँको आफ्नै शैली बन्दै जाओस् । नयाँ नयाँ कविता पढ्न पाऊँ । यहाँका दजनौँ सपनाहरु फुलून्, फलून् । यिनै शुभेच्छा राख्दै यहाँको सिर्जनशील भविष्य, उत्तरोत्तर प्रगति र काव्यिक उन्नयनको शुभकामनासहित कलम रोक्छु । भबतु सब्ब मङ्गलम् ।