मकवानपुर, २६ माघ ।
विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा आधारभूत तह तथा माध्यमिक तहको प्रश्नपत्र निर्माणसम्बन्धी तालिम शनिबार सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा समापन भएको छ । मकवानपुर जिल्लाका ६३ जना विज्ञान शिक्षकहरूले सहभागिता जनाएको उक्त कार्यक्रममा तालिम सहजीकरण विज्ञान शिक्षकहरू भरत पोखरेल, दुर्गा पराजुली, खेम बिक र ओमप्रकाश सापकोटाले गर्नुभएको थियो ।
आधारभूत तह र माध्यमिक तह गरी दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको तालिमबाट विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्न ध्यान पुर्याउनुपर्ने कुराहरू, संज्ञानात्मक तहहरू पहिचान गरी त्यस अनुसार प्रश्नपत्र निर्माण गर्ने सीपको विकास र प्रश्नपत्र निर्माणपूर्व तय गर्नुपर्ने नमुना मेट्रिक्स निर्माण लगायतका विषयमा प्रशिक्षार्थीहरू प्रशिक्षित भएको विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका सचिव सुवास खनालले बताउनुभयो ।
कार्यक्रमको समापन समारोह समाजका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख अतिथ्य र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुदीप गिरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडा, विज्ञान शिक्षकहरू रामकुमार ठाकुर, विनोदप्रसाद गुप्ता, मनिलकुमार कर्ण, ग्यालेक्सी बुक्स सेन्टरका अमृत मगर, लिंकेज टेक्निकल एकेडेमीका कमल कोइरालालगायतको आतिथ्यता रहेको थियो । प्रशिक्षार्थीहरूको तर्फबाट गीतावर आधारभूत विद्यालय बकैया ५ की अमृता लामिछाने र मत्स्यनारायण मावि थाहा नगरपालिकाका राजेश तिमल्सिनाले धारणा राख्दै यस्ता कार्यक्रमहरु निरन्तर आयोजना भइरहनुपर्ने बताउनुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रशिक्षक तथा सहभागीहरूलाई प्रमुख अतिथिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।