चितवन, २६ माघ ।
हरिकिर्तन धार्मिक संस्था / लक्ष्मीवेङ्कटेश मन्दिर भरतपुर-४, लङ्कु, हरिकीर्तन चोकमा फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ ।
महायज्ञ सम्पादन मूल समितिले मन्दिर प्राङ्गणमा शनिबार पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो ।
कमलनयनाचार्य मुक्तिनाथ बाबाको संरक्षकत्व, शालग्रामाचार्य गुरु आश्रम, नाग्लिवाङका नारायणाचार्य स्वामी (टीकाराम गुरु)को प्रधान यज्ञाचार्यत्व , अखण्ड हरिकिर्तन बाबा उमानाथ कँडेलको सत्संकल्प एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा हुने महायज्ञमा दैनिक रूपमा विशिष्ट विद्वान्हरूको प्रवचन हुने कार्यक्रम रहेको छ । यज्ञशेषबाट अक्षयकोष अभिवृद्धि गरी नित्य भगवत्पूजा- आराधना एवम् मन्दिरलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्नु महायज्ञको उद्देश्य रहेको मूल समितिका संयोजक टीकाराम कँडेलले बताउनुभयो ।
महायज्ञअन्तर्गत माघ ३० गते दिउँसो २ बजे मोटरसाइकल तथा गाडी र्याली, फागुन १ गते बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिकलगायत विभिन्न संघसंस्थाको परिचय झल्कने भेषभूषा, ब्यानर, ॐकारझन्डासहितको शोभा-कलश यात्रा, समुद्घाटन, फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान, फागुन ५ गते कमलनयनाचार्य / मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम सङ्किर्तन स्मारकको उद्घाटन, संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य / महन्त पदमा पट्टाभिषेक, प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन एवम् फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको मिडिया प्रचार संयोजक माधव सापकोटाले जानकारी दिनुभयो ।