मकवानपुर, २६ माघ ।
हेटौंडामा मुक्तक सर्जक २ जना सम्मानित भएका छन् । मुक्तक मञ्च मकवानपुरको तेस्रो वार्षिकोत्सवको अवसरमा शनिबार मुक्तककारद्वय निलाञ्जला भारद्वाज र अस्मिता दाहाल सम्मानित भएका हुन् ।
नुवाकोटकी भारद्वाजलाई ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ बाट सम्मान गरिएकाे हाे । उक्त सम्मानकाे राशि नगर ७ हजार ७७७ रुपैयाँ रहेकाे छ । मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष तथा साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलाले स्व. पिता बहादुरानन्द बर्ताौलाकाे सम्झनामा उक्त सम्मानकाे स्थापना गरेका हुन् । मुक्तकको विधामा प्रदान गरिने सम्मान हो ।
यस्तै सिन्धुलीकी दाहाललाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ २०८१ बाट सम्मान गरिएकाे हाे । उक्त सम्मानको राशि नगद ५ हजार ५५५ रुपैयाँ रहेकाे छ । स्थापनाकालमा ५ हजार १ रुपैयाँ रहेकाे उक्त सम्मानकाे राशि २०८० सालबाट बढाएर ५ हजार ५५५ रुपैयाँ बनाइएकाे हाे । प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले हजुरआमा इन्दिरादेवी अधिकारीकाे सम्झनामा उक्त सम्मान स्थापना गरेका हुन् ।
तेस्रो वार्षिकोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रिय वन्दना, गैँडाकोट प्रज्ञा प्रतिष्ठान सचिव भीमप्रसाद शर्मा, सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेले शुभकामना मन्तव्यसहित मुक्तक वाचन गरेका थिए । यसैगरी पुरस्कृत व्यक्तित्वद्वयले ५/५ मुक्तक वाचन गरेका थिए ।
मुक्तक मञ्च मकवानपुरले शनिबार सम्मानसहित आयोजना गरेको २१औँ मुक्तकवाचन शृङ्खलामा अनुश्रीया खनाल, मिथिला अधिकारी, राजुराम राउत, शोभा थापा, समिता पौडेल, सबिता तिमल्सिना, चिरञ्जीवी लामिछाने, कमल नेपाल, समीर पाख्रीन, देव निर्दोष, सुन्दर कार्की, देवराज तिवारी, पुरुषोत्तम आचार्य, अजर फुँयाल, सानू खनाललगायतले २/२ वटा मुक्तक वाचन गरे ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा मकवानपुरे अग्रज साहित्यका हयग्रिव आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाे सहजीकरण मुक्तक मञ्च मकवानपुर सचिव सुवास सजलले गरेका थिए ।