गैंडाकोट, २६ माघ ।
पठन संस्कृति अभियानको १० औँ शृङ्खलामा गायत्री अधिकारीद्वारा लिखित `वर्तमान´ उपन्यास विमोचन गरिएको छ ।
विजय विकास स्रोत केन्द्र गैंडाकोटमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एलबी क्षेत्री, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र पठन संस्कृति अभियानका संयोजक त्रिलोचन सापकोटाले पुस्तक विमोचन गर्नुभएको हो । सुन्दर स्वदेश पब्लिकेसन्सबाट प्रकाशित पुस्तकको मूल्य २५०/- छ । अधिकारीको यसअघि `निर्णय´ कथासङ्ग्रह प्रकाशित छ ।
विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले गत वैशाखयता पठन संस्कृति अभियान चलाइरहेको छ । कार्यक्रममा पुस्तक चर्चा सँगसँगै भ्रमण अनुभव पनि सुनाउने गरिन्छ । शनिबार आयोजित कार्यक्रममा गैंडाकोट निवासी शंकर आचार्यले बागलुङ यात्राको वृतान्त सँगसँगै बागलुङको स्थान परिचय प्रस्तुत गर्नु भयो । त्यसैगरी युनाइटेड तक्षशिला एकेडेमीमा कक्षा ११ मा अध्ययनरत संसारचन्द्र सापकोटाले युवाहरू तथा बौद्धिक जनशक्तिको विदेश पलायन र यसले पारेको सामाजिक प्रभाव बारेमा चर्चा गर्नुभयो ।
त्यसैगरी लेखराम सापकोटाले कोरियन लेखक हान काङको `भेजिटेरियन´ उपन्यासको चर्चा गर्नुभयो । पुस्तकले अन्तर्राष्ट्रिय म्यान बुकर पुरस्कार- २०१६ प्राप्त गरेको छ भने लेखक हान काङले नोबेल पुरस्कार २०२४ जितेकी छन् । उनलेे नोबेल पुरस्कार प्राप्त गरेपछि उनको समग्र लेखन सँगसँगै भेजिटेरियन पुस्तकको चर्चा चुलिएको छ ।
त्यसैगरी आदर्श सिग्देलले अङ्ग्रेजी किताब `इकिगाइ´, मेनका चापागाईंले सिर्जन अविरलको `तथागत´ र उदय अधिकारीले गोविन्दराज विनोदीको `कैकेयी´ महाकाव्यको चर्चा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एलबी क्षेत्रीले पठन संस्कृति अभियान जस्ता कार्यक्रमले बौद्धिक विकास हुने बताउँदै देशव्यापी रूपमा यस्ता कार्यक्रमहरू हुनुपर्ने बताउनु भयो । पठन संस्कृति अभियानमा विद्यार्थीहरूको सहभागिता गराउन उहाँले सुझाव दिनुभयो ।