मकवानपुर, २५ माघ ।
हेटौंडामा अण्डर १६ फुटबल प्रतियोगिता हुने भएकाे छ । गत असोजको अविरल वर्षाको कारण आएको पहिरोमा पुरिएर मृत्युु भएका प्रशिक्षार्थी खेलाडी अनुपम घलान स्मृति अन्डर १६ फुटबल प्रतियोगिता २०८१ हुने भएकाे हाे ।
हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयोजनामा प्रतियोगिता हुने नगर खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे । हेटौंडा १२ निवासी अनुपम घलानकाे १३ वर्षको उमेरमा १२ असोज २०८१ मा इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरी एकेडेमीमा आवासीय प्रशिक्षणमा रहेको बेला पहिरोमा परी निधन भएको थियो । घलानको निधनपछि उनकाे स्मृतिमा १६ बर्ष मुनीको फुटबल टीमबिच प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकाे आर्थिक सहयोग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा हुने प्रतियोगिता ७ फागुनबाट हेटौंडा- ५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगित हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले ७० हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी विधागत रुपमा उत्कृष्टतर्फ समेत पुरस्कारकाे व्यवस्था गरिएकाे छ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट किपर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्सले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियाेगिता नक आउटका आधारमा खेलाइने छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका वडाहरुबाट १२ टिमकाे सहभागिता रहने बताइएकाे छ । उक्त प्रतियोगिताले आगामी वर्षबाट निरन्तरता पाउने समेत उनले जानकारी दिए । सहभागी टिम दर्ता ४ फागुनसम्म नगर खेलकुद विकास समितिमा गर्नुपर्ने बताइएकाे छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी घलान अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित सिस्नेरीस्थित वात्सला देवी माविको प्रशिक्षण केन्द्रमा फुटवल प्रशिक्षण लिइरहेका थिए । उनको १३ वर्षको उमेरमा १२ असोज २०८१ मा जिल्लाकाे इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीमा पहिरोमा परी निधन भएको थियो । अविरल वर्षका कारण कुलेखानी जलाशय भरिदा ढोका खाेलिए पछि बाढीको जोखिमका कारण एकेडेमी भएकाे स्थानबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा घलानसहित ६ जनाकाे पहिरोमा परी मृत्यु भएकाे थियाे ।