भरतपुर, २४ माघ ।
भरतपुर महानगरपालिका वडा नम्बर- १४ शान्तिपुरमा अवस्थित नेपाल पुलिस स्कुलकाे वार्षिकाेत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालकाे प्रमुख आतिथ्यता रहेको थियो भने बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख तथा विद्यालय संरक्षक प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक प्रज्ज्वल महर्जन, नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, भरतपुर महानगरपालिका वडा नम्बर- १४ का वडाअध्यक्ष राजेन्द्र साँखीलगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अतिथिहरूले विद्यालयमा रहेका साहित्य क्लब, विज्ञान तथा प्रविधि क्लब, कला तथा रुचि क्लब, आपतकालीन तयारी क्लब, सूचना तथा प्रविधि क्लब, व्यापार व्यवस्थापन क्लब, बाल क्लबलगायतका ९ वटा क्लबका विद्यार्थीद्वारा आयाेजित स्टल प्रदर्शनी अवलाेकन गरेका थिए ।
बालक्लब, संगीत क्लब, नृत्य क्लब तथा खेलकुद क्लबका विद्यार्थीहरूले कार्यक्रममा आफ्ना प्रतिभा र प्रस्तुति देखाएका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि दाहालले शैक्षिक तथा भाैतिक क्षेत्र, अतिरिक्त क्रियाकलापकाे क्षेत्र, सिर्जनात्मक एवम् व्यावहारिक कार्यक्रममा विद्यालयले ठूलाे फड्काे मारेकाेमा खुसी तथा प्रशंसा व्यक्त गरिन् । दाहालले आजका बालबालिकाहरूलाई बाैद्धिक र ज्ञानबर्धक शिक्षामात्रै नभइ सिर्जनात्मक, व्यवहारिक, आत्मनिर्भरतामुखी र स्वराेजगारमुखी शिक्षातर्फ यस विद्यालयले अग्रगामी छलाङ मार्दै प्रगतिपथमा लम्कियाेस् भन्ने शुभकामना व्यक्त गरिन् । त्यसैगरी दाहालले आफ्नै गाउँठाउँमा अवस्थित अझ आफ्नै कार्यकाल र नेतृत्वमा स्थापना भएकाे हुँदा यस विद्यालयप्रति अत्यन्तै आत्मीयता रहेकाे र विद्यालयकाे गुणस्तर वृद्धिका लागि सहयाेग गर्न आफू हरपल तत्पर रहेकाे प्रतिबद्धता पनि व्यक्त गरिन् ।
कार्यक्रमको अन्तमा विद्यालयका समादेशक रामकृष्ण श्रेष्ठले विभिन्न विधामा सम्मानित शिक्षकहरू र विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी उक्त कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथिहरूलाई विशेष धन्यवाद ज्ञापन गरे ।