चितवन, २४ माघ ।
खैरहनी नगरपालिकामा ४५८ जना विपन्न नागरिकको निःशुल्क बिमा गरिएको छ । नगरपालिकाले ‘विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ अन्तर्गत ४५८ विपन्न नगरबासीको निःशुल्क बिमा गरेको हो । आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको एक कार्यक्रमका बीच स्वास्थ्य बिमा परिचयपत्र वितरण गर्दै खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले बताएका छन् ।
खासगरी विपन्न नगरबासी नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले केही वर्षदेखि नगरपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा थालिएको नगरप्रमुख खनियाले उल्लेख गरेका छन् । नगरप्रमुख खनियाका अनुसार विगत तीन बर्ष भित्रमा यस कार्यक्रमबाट हालसम्म नगरपालिका भित्रका करिब १५०० नागरिक लाभान्वित भएका छन् । स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व उल्लेख गर्दै नगरप्रमुख खनियाले नागरिकको दुःखमा साथ दिने र नागरिकको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिँदै आएको दाबी गरेका छन् ।
विपन्न नागरिकलाई बिमा परिचयपत्र वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता उप्रेतीले वडा कार्यालयले विपन्न परिवार पहिचान गरी सिफारिस गरेको आधारमा बिमा कार्यक्रममा समावेश गरीएको उल्लेख गरिन् । वडाले गरेको सिफारिसलाई स्वास्थ्य शाखाबाट प्रत्येक परिवारको अनुगमन गरी लाभग्राही छनौट गरिएको उपप्रमुख उप्रेतीको दाबी थियो ।
बिमित परिवारले आउँदो फागुन १ गतेदेखि खैरहनी नगर अस्पतालबाट बिमा सेवा लिनसक्ने स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले जानकारी गराएका छन् ।
स्थानीय नागरिक, सहकारी संस्था र नगरको सहकार्यमा अन्य आर्थिक अवस्था कमजोर भएका नगरबासीको पनि क्रमश बिमा गर्ने नगरको योजना रहेको नगरपालिकाले जनाएको छ ।