मकवानपुर, २४ माघ ।
हेटौंडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर संकलन कार्य स्थगन गरेकाे छ । उपमहानगरपालिकाका १९ वडामा आज बिहीबारबाट अर्काे व्यवस्था नभएसम्मकाे लागि फोहाेर संकलन नहुने भएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाले संकलन गर्दै आएकाे फोहाेर हेटौंडा १० स्थित राप्ती तटमा व्यवस्थापन गर्दै आएकाेमा अदालतमा रिट परेपछि संकलन कार्य स्थगित भएकाे हाे ।
मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभएसम्मका लागि फोहोर नफाल्न उपमहानगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेसँगै फोहोर सङ्कलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाकाे वेवसाइट तथा आधिकारिक फेसबुक पेजमा बिहीबार कार्यालय समय अगावै सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन स्थगन गरिएको उल्लेख गरेकाे छ ।
अदालतले राप्ती तटमा फोहोर नफाल्न आदेश जारी गरेको र उपमहानगरपालिकासँग अर्को वैकल्पिक स्थान नभएकोले फोहोर उठाउन रोक्नु परेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए । विगतमा फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्रमा आगलागी हुँने गरेकाे थियाे । तर दुईसाता अघि राप्ती तटमा रहेको फोहोर सङ्कलन केन्द्रमा आगलागी भएपछि प्रदुषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए।
सोको सुनुवाइ गर्दै न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले मङ्गलबार राप्ती तटमा फोहोर नफाल्नू, फाल्न नलगाउनू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियोे । अन्तरिम आदेश जारीसँगै २९ माघकाे लागि पक्ष विपक्षलाई छलफलकाे लागि अदालतमा बाेलाएकाे छ । मुद्दाकाे अन्तिम किनारा नलागे सम्म फोहाेर संकलन हुने देखिँदैन् ।
हेटौंडा यसअघि मुलुककै सफा सहरको रुपमा पुरस्कृत समेत भैसकेको नगर हो ।