मलाई सबैभन्दा प्यारो लाग्ने शब्द नै `म´ हो । म, मै, ममा, मेरो, मलाइ, मसँग, मदेखि, मबाट, मजस्तै, म त । कहिलेकाही एक्लै, स्वायत्त, स्वतन्त्र र कहिलेकाही कुनै प्रत्यय, विभक्ति वा अरू शब्दसँग जोडेर मैले प्रायः लिईरहन्छु यो शब्द । हिसाब नै त गरेको छैन । यदी गरिँदो हो त, ओठले सबैभन्दा धेरै उच्चारण गर्ने पहिलो शब्द `म´ हो भन्दा सायद म गल्ती हुँदिनँ ।
`म´ मेरा लागि सबैभन्दा हलुङ्गो लाग्ने शब्द । मानौँ म हावाको वेगमा विचरण गरिरहेको बेलुन हुँ । मेरै परिधिभित्र मैले नै बनाएको आकाशमा उडिरहेको हलुङ्गो प्राणि ।
मलाई सबैभन्दा गरूङ्गो लाग्ने शब्द पनि `म´ नै हो । म भित्र म र म फरक छन् । एउटा दुईटा तीनटा वा यस्तै यस्तै कति महरू म भित्र छन् । म जन्माईरहन्छु महरू । अगणित असिमित महरूको कृत्रिम सङ्ग्रह लिएर बनेको हुँ म सायद । उनीहरूलाई मैले नदेखेको मात्र हुँ ।
मजति खोजिन्छु मबाट त्यति नै धेरै मअरू मसँग परिचित हुन्छन् । जसको भारले मलाई निरन्तर थिचिरहेको हुन्छ । म र म भित्रका समानता वा असमानता मैले मापन गरेको छैन । लाग्छ कुनै दोभान या त्रिवेणी मा मैले आफूलाई उभ्याईराखेको छु । आओस् र बगाओस् भन्ने खातिर । मभित्र महरूको मुल कसरी निस्कन्छ ? मन नामको महरूको नदी कहाँ बग्दो छ ? कसरी थाहै नपाई उत्पन्न छालहरू मलाई भिजाउँछन् ? मलाई बगाउँछन् ? मेरो नियन्त्रण बाहिर पुग्छन् ? म जोखिममा पुग्छु । भयङ्कर विपद निम्त्याउने पनि मै हो । जसलाई स्वयम् व्यवस्थापन गर्नु मेरालागि नाजायज लाग्छ । सायद त्यसैले मलाई म सबैसँग लुकाउँछु । दबाउँछु । धेरैपटक भाग्न खोजे पनि च्याप्प समाउँछु । मेरो खाँचो मलाई भएजस्तै गरी म मैसँग टाँसिन्छु । गाँसिन्छु म महरू उनिएको मालामा । ओइलिन्छु । मैलिन्छु । थाहा हुँदाहुँदै सिउँछु । थाहा नहुँदानहुँदै सिउरिदिन्छु । कहिले मिल्क्याइदिन्छु । म मैसँग दोबाटोमा भेटिएका हो वा त्यहीँबाट छुटिएको हो ।
म नाम, सर्वनाम, विशेषणका अनेक स्वरूपमा छु । म दर्पणमा देखिएको परिवर्तनका अनेक रूपमा छु । म मेरा वरिपरिका नजरहरूका अनेकन प्रारूपमा पनि छु । सुन्दरतामा सुन्दर छु । कुरूपमा कुरूप छु । भिन्दाभिन्दै सङ्गतमा भिन्दाभिन्दै छु । भिन्दाभिन्दै समयमा भिन्दाभिन्दै छु । मर्छु भन्ने भयमा छु । म छु भन्ने परिचयमा छु । तानमा तानिएझैँ समयको तानेको लयमा छु । भन्ने नै भए भनाईका भावमा छु । भावका अनेकन भाषामा भासिएको छु । गन्ने नै भए सयमा शून्य छु र शून्यमा सय छु ।
वर्गीय एनाटोमीमा मेरो विश्लेषण पनि अचम्क कै छ । म मेरो समानान्तर वर्गमा छु । होईन, म भित्र मेरा धेरै वर्ग छन् ।
म उदास यसर्थ छु कि सुरूमा म मेरै दास हुँ । म भित्र शासन गरिरहेको शासकको शालिक छ । जो मेरो मालिक बन्न खोज्छ । म उसलाई केही मान्दिनँ कोही मान्दिनँ । यो मेरो प्रथमतः गरिएको वर्गीय आन्दोलन हो । बिडम्बना समानताको नारा घन्काउने नायक तर नारालाई कुनामा थन्काउने नालायक दुबै हुँ म । म कारमा नमस्कारको चाहना राखेर कुदेको छु । कारमा बस्नेलाई महान मानेर झुकेर प्रणाम गर्ने पनि मै हुँ । कारलाई अन्धकारको सपना मानिदिने मै हुँ । त्यो केवल साधन हो साध्य होईन भनी ढाकिदिएको मलाई मात्र थाहा होला ।
जस्तै जस्तै : म मसँगै मिल्छु सायद । कि मिल्दिनँ खै ! जेहोस् । म र म मिलेपछि मम हुन्छ । मम मलाई मीठो लाग्छ । तर मलाई मम पच्दैन । नपच्ने भए पनि मम मेरो मीठो परिकार हो । त्यसैले म जबरजस्ती मम खाइदिन्छु खाईरहन्छु । त्यतिबेला मैले म मम मिठोलाग्ने म को कुरामात्र सुन्छु । मम नपच्ने म लाई नबोल्न बाध्य पारिदिन्छु । जसबाट मलाई असर पुगिरहेको हुन्छ । मम नपचेपछि त्यो म ले मलाई नै गाली गर्छ । यसबाट म स्वयम्ले मलाई तनाब दिइरहेको छु । मलाई तनाब दिने पनि मै हो । मलाई खुशी बनाउने पनि मै दुखी बनाउने पनि मै । मम मलाई नै मन पर्ने र मलाई नै खान नहुने । म मेरो साथी हुँ कि दुश्मन । मलाई थाह छैन । मलाई मेरै बारेमा थाह छैन भने कसलाई थाहा हुन्छ ? मलाई म बारे जान्नु छ । तर म अरुलाइ मेरो बारे सोध्न सक्दिनँ किनकि अरुलाइ मेरो बारेको जान्न खोज्दा रोक लगाउने मै हुँ । पटकपटक मैले मलाई सोधिरहेको हुन्छु ? म को हुँ ? म भित्र कुन म छ ? त्यो कस्तो छ ? किन छ ? प्रश्न सोध्ने पनि मै हुँ । मौन बस्ने पनि मै । मलाई हँसाउने मै रूवाउने मै । अकारण प्रश्न साधेपछि जवाफ खोज्ने पनि मै ।
जवाफ दुई वटा छन् ।
पहिलो
म मनगणन्ते छु । म मनमौजी छु । म केवल एक कल्पना हुँ । म अरू कसैले रचेको कविता हुँ जसलाई मैले नै पढेको छैन । म हराएको छु भिडमा मबाटै पनि सायद । म गुफा हुँ । जहाँ म आफैँ छिर्न रूचाउँदिनँ । म निजी बाहेक अरू सबै हुँ । अरू सबैको हुँ । म अरूको साईनो हुँ । अरूकै कर्तव्य हुँ र अरूकै जिम्मेवारी । म सृष्टिको प्रयोग हुँ । वा संयोगले सिर्जित प्राणी हुँ । म वेवारिस फ्याँकिएको बोक्रा हुँ । क्षणिक हुँ । छोटो दौडमा दौडिरहेको लगामधारी हुँ । म नितान्त सजीवको आडम्बरले सजिएको निर्जीव हुँ ।
दोस्रो
म सजीव हुँ । म बिना मेरो कोही छैन । म बिना म स्वयम् छैन । म मेरो मात्र हुँ । म मैले म भन्ने एकमात्र पात्र हुँ । म एक्लै छु । म मेरा लागि बाँच्दछु । मैले बचाएको अनुभव वा स्मृतिमा मेरो एकाधिकार छ । म विशेष पनि छु । म अवर्णित छु । अलिखित छु । मैले सम्झिरहेको मै हुँ । मैले बिर्सिरहेको पनि मै हुँ । मैले लेख्न खोजेको र लेख्न नसकेको पनि मै हुँ । म जे हुँ मै हुँ । म निरन्तर र बारम्बार मैसँग छु र त्यतिबेलासम्म भैरहनेछु । जति बेलासम्म म नभए पनि मेरो अस्तित्व रहिरहनेछ ।
थाह छैन कहिले लेखिन्छु म ? कसरी लेख्छु म? म स्वयम्ले त सायद मलाई लेख्नु नसकुँला भने मलाई लेख्न कुन म जन्मिएला फेरि मभित्र ?
म सोचिरहेको छु। `म काव्य´ मैले कोर्न सकुँला कि नसकुँला ? जन्म अघिको `म´ र मृत्युु पश्चातको `म´ मलाई भनिदिने को होला ? र त्यतिबेला मैले कसरी सुनुँला मलाई ? न सुरू न अन्त्य दुबैको अज्ञानतामा म काव्य कसरी पूर्ण गरूँला । मैले मेरै बारेमा सोच्दा, बहकिरहँदा मैले आफैँलाई पागल करार गरूँला कि नगरूँला ? म आफैँले आफैँलाई गिराईरहँदा यस गिरावटको भागिदार को होला ? अरूले पनि उनीहरूले `म´ भनेर सम्बोधन गर्ने प्राणीले मैले जति नै जटिल बनाउलान् त ? म कति सरल कति जटिल ?
भयो मकाव्यको पहिलो श्रृङ्खला यहीँ बिट मारौँ । अर्को तानमा तानएपछि फेरि भेटौँला । त्यस अघि म मलाई नै खोज्छु है । अझै सघन र सूक्ष्म पाराले ।