भरतपुर, २२ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा चौथो मुद्दा दायर भएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनामा उनलाई पनि प्रतिवादी बनाइएको छ । सो सहकारीबाट १० करोड ८० लाख १९ हजार १५१ रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको र गोर्खा मिडियाका चारजना सञ्चालकलाई बराबर हुने गरी १० करोड ८० लाखको बिगो कायम गरिएको छ । जसअनुसार लामिछानेविरुद्ध दुई करोड ७० लाखबराबरको बिगो दाबी गरिएको छ । गोर्खा मिडियाका अन्य सञ्चालकमा जिबी राई, छविलाल जोशी र कुमार रम्तेल छन् । पूरक अभियोगमा ३२ जनालाई प्रतिवादी बनाइएको छ ।
लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बमजन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलगायत विरुद्ध मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार सहकारीबाट पैसा गएका ६ वटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ । ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको उनले बताए ।
यसअघि गत ८ असोजमा प्रत्यक्ष रूपमा सहकारी ठगीमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको थियो । यसपटक सहकारीबाट गएको रकम खर्च गर्ने भूमिकामा रहेकालाई पनि प्रतिवादी बनाउन लागिएको छ । संसदीय छानबिन समितिले समेत सहकारीबाट पैसा लैजाने भूमिकामा लामिछानेको संलग्नता नदेखिएको भनेर प्रतिवेदन दिँदा पनि उनलाई मुद्दा चलाइएको रास्वापाको दाबी छ ।
लामिछानेविरुद्ध यसअघि कास्की, काठमाडौं र रुपन्देहीमा मुद्दा दायर भइसकेको छ । जसमा कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र रुपन्देहीमा उनलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो ।
पर्सामा पनि प्रहरीले अनुसन्धान टुंग्याएर सरकारी वकिललाई फाइल बुझाउने तयारी गरेको छ ।
जिबी राईको समूहले सञ्चालन गरेका विभिन्न सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगिएको र प्रबन्ध निर्देशकका रूपमा लामिछानेले पनि त्यो रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग पनि लगाइएको छ । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा लामिछानेविरुद्ध मुद्दा दायर गरिएको भन्दै विरोध गर्दै आएको छ ।