मकवानपुर, २१ माघ ।
नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा नवसर्जक उत्सव हुने भएको छ । नवसर्जकहरु उत्पादन गर्ने, पठन तथा लेखा संस्कृतिको विकास गर्ने उद्देश्यले नवसर्जक उत्सव आयोजना गर्न लागिएकाे सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएकाे छ । आगामी फागुन ९ र १० गते हेटौंडामा राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशन हुनेछ ।
नवसर्जक साहित्य चौतारी नेपालका संस्थापक तथा संरक्षक दीपक गौतमले भने –‘फागुन ९ गते सिर्जनात्मक लेखन कार्यशाला तथा फागुन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता तथा रचना वाचन कार्यक्रम हुने छ ।’ वि.सं. २०७७ साल जेठ २८ गते पहिलो बाल उत्सव कार्यक्रम आयोजना गरेकोमा यस वर्ष नवसर्जक उत्सव कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
फागुन ९ गते हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा ८ विधाको सिर्जनात्मक लेखन कार्यशाला हुनेछ । जसमा मुक्तक लेखन कार्यशाला, गजल लेखन, लोक लयमा कविता लेखन, गद्य कविता लेखन, कथा लेखन, नाटक लेखन, निबन्ध (यात्रा संस्मरण) लेखन र चित्रकला लेखन हुनेछ । कार्यशाला २ घण्टा सञ्चालन हुने उनले बताए ।
यसैगरी फागुन १० गते हेटौंडा–११ शहीद स्मारकमा नवप्रतिभा प्रबर्द्धनमा विद्यालय र स्थानीय सरकारबीच बहस, राष्ट्रव्यापी नवसर्जक (२५ वर्ष मुनिका) गजल प्रतियोगिता हुनेछ । प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित प्रादेशिक नवप्रतिभा सम्मान, एकजना अग्रज बालसाहित्य सर्जक वा अभियन्तालाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहितको लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्य सम्मान समर्पण, नवसर्जक मुक्तक वाचन, ७ प्रदेशका नवसर्जक प्रतिभाका रचना वाचन, संस्थासँग जोडिएका २५ वर्षमुनिका कृति प्रकाशन गर्ने नवसर्जकलाई कृति प्रकाशन सम्मान, उत्कृष्ट प्रदेश समिति पुरस्कार, नवप्रतिभाका सांस्कृतिक नृत्य तथा गायन र प्रथम केन्द्रीय अधिवेशन हुने उनले बताए । कार्यक्रमको लागि ३५० जना विद्यार्थी र ५० जना शिक्षकको सहभागिता रहने उनले बताए ।
कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले साहित्य क्षेत्रमा नयाँ पुस्तालाई उत्पादन र आकर्षण गर्ने उद्देश्यले आयोजित नवसर्जक उत्सव कार्यक्रम निकै फलदायी हुने बताए । उत्सवको लागि ४ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । नवसर्जक उत्सवको लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा–४ नम्वर वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालय मुख्य आर्थिक व्यवस्थापनमा रहेको छ । पत्रकार सम्मेलनमा नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार रमेशमोहन अधिकारी, अर्चना दाहाल, विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष कृतिका लौडारीलगायतको उपस्थित रहेको थियो ।