मकवानपुर, १८ माघ ।
बागमती प्रदेशसभाको हिउँदे अधिवशेन आजबाट सुरु हुदैछ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १८ माघको लागि अधिवेशन आव्हान गरेका हुन् ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले गत मंगलबार प्रदेशसभाको पन्ध्रौं अधिवेशन आव्हान गरेका थिए ।
११ माघको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । विपक्षी दलले माग गरे पनि सरकारसँग पर्याप्त ‘बिजनेस’ नभएपछि प्रदेश सभाको वर्षे अधिवेशन सरकारले आव्हान गर्न सकेको थिएन ।
बागमती प्रदेशसभा सचिवालयमा ४ विधेयकहरु दर्ता भएका छन् । प्रदेश सरकारले विभिन्न ४ वटा संशोधन विधेयक दर्ता गराएको सचिवालयले जनाएको छ । आजबाट सुरु हुने अधिवेशनका बैठकहरुबाट पारित गर्नेगरी ४ वटा संशोधन विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार प्रदेशसभाको हिउँदे अधिवेशनमा पेश हुनेगरी प्रदेश खेलकुद ऐन लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको हो ।
वर्षे अधिबेशन अन्त्य भएको ४ महिना पछि प्रदेश सभा बैठक बस्ने भएको हो ।