चितवन, १७ माघ ।
चितवनको भरतपुर- ७ स्थित मर्स्याङ्दी टोल विकास संस्थाको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । गत वर्ष भएको अधिवेशनपछि निर्वाचित पदाधिकारीले टोलमा भए गरेका काम र आगामी योजनाका बारेको जानकारी सहित साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर- ७ का कार्यबाहक वडा अध्यक्ष मीनबहादुर गुरुङ र विशिष्ट अतिथि वडा सदस्य अमृता गौतम रहनु भएको थियो ।
साधारणसभामा संस्थाका सचिव प्रितीमा ठाडा मगरले संस्थाले एक वर्षको अवधिमा भए गरेका काम र प्रगतिका बारेमा तथा संस्थाका कोषाध्यक्ष शिव श्रेष्ठले आयव्यय तथा खर्च कोषलगायत आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सोही कार्यक्रममा टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै विभिन्न समयमा वडामा भएका खेलकुद प्रतियोगितामा समावेश भै विजयी खेलाडीलाई कदरपत्र तथा टोल विकास संस्थालाई सहयोग पुर्याउने टोलका अगुवालाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी गत वर्षको प्रवेशिका (एसईई )परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने टोलका २ जना सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा अतिथिहरु, संस्थापक अध्यक्ष हितमान गुरुङ, पूर्व अध्यक्षहरु ज्ञानु लौडारी, प्रकाश सापकोटा तथा निवर्तमान अध्यक्ष केदारनाथ बोहरालगायतले साधारणसभाको सफलताको कामना गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष नवीन रेग्मीले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कालीमाया गुरुङ र संचालन सचिव प्रितीमा ठाडाले गर्नु भएको हो । टोल विकास संस्थामा १ सय ८७ घर परिवार आवद्ध रहेका छन् ।