भरतपुर, १७ माघ ।
संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीमा सैन्य हेलिकप्टर र यात्रु बोकेको जहाज एक आपसमा ठोक्किँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो ।
उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ । बीबीसीका अनुसार उद्धारका लागि करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएका छन् । उद्धारकर्ताहरूले दुर्घटनास्थलबाट १९ वटा शव बरामद गरेको बीबीसीले जनाएको छ ।



रातको समय र वासिङटनको तापक्रम कम भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । डिसीका आगलागी तथा आपत्कालीन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरले अँध्यारो र धमिलो पानीले उद्धारमा कठिनाइ भएको बताएका सीएनएनले जनाएको छ ।
चालक दलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरण गर्न लाग्दा हेलिकप्टरसँग ठोकिएको हो ।

Photo: BBC
अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)का अनुसार स्थानीय समयानुसार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको अमेरिकन एअरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो ।
दुर्घटनापछि नदीमा खसेको विमान विमान दुई टुक्रा भएको छ । दुर्घटनाग्रस्त हेलिकप्टर उत्तानो परेर नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिमका लागि प्रयोग भएको सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ ।
बीबीसीका अनुसार उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको छ भने त्यहाँ आउने विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ । अधिकारीहरूले हवाइयात्रुलाई सुविधा प्रदान गर्न डीसीको मेट्रो रेल राति अबेरसम्म चल्ने जनाएका छन् ।
दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाउने भएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भयानक दुर्घटनाबारे दुर्घटनाबारे आफूलाई तत्काल जानकारी दिइएको र आपत्कालीन उद्धार कार्यको प्रशंसा गरेका छन् ।


