भरतपुर, १६ माघ ।
प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्तरुपमा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चितवनका जिल्ला ईन्चार्ज घनश्याम दाहाल (अविनाश) ले प्रेस सेन्टर श्रमजीवीहरुको संगठन बन्न सफल होस् भनी शुभकामना दिए । प्रेस सेन्टर नेपालले सधैं सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध उनले गरे ।
दाहालले माओवादी केन्द्रले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानलाई पनि कलमको माध्यमबाट खबरदारी गर्दै सहकार्य गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा पनि जनपक्षीय पत्रकारिताले देशको समृद्धि र सामाजिक न्यायका लागि मार्गप्रशस्त गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।
प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव शान्ता अधिकारीले प्रेस सेन्टरले लामो समयदेखि पत्रकारितामा गरेको योगदानलाई स्मरण गर्दै भनिन्, “नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको छ । अबको समयमा प्रेस सेन्टरले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पु¥याउनुपर्ने आवश्यकता छ ।”
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले श्रमजीवी पत्रकारहरुको हकहित र सुरक्षाका लागि सेन्टरसँगको सहकार्य थप सशक्त बनाउने बताए । प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले विगत २१ वर्षको लामो इतिहास, प्रेस सेन्टरको उद्देश्य र आगामी योजनाका विषयमा प्रकाश पारे ।
भरतपुर महानगर कमिटीका अध्यक्ष किशोर चन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम प्रेस सेन्टर चितवनका सचिव सुरेन कुँवरले सञ्चालन गरेका थिए । भरतपुरको चौबिसकोठीमा सम्पन्न कार्यक्रममा प्रेस सेन्टरका पदाधिकारी, सदस्यहरु माओवादी नेताहरू र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।